लमजुङकाे पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

बेपत्ता भएकाहरु अझै भेटिएनन्, खोजी कार्य जारी

 भदौ ३०, २०७५ शनिबार १४:६:४३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बुधबारदेखि परेको वर्षासँगै आएको पहिरोमा परि ज्यान गुमाएका परिवारलाई मर्स्याङ्दी गाउँपालिकाले राहत रकम उपलब्ध गराएको छ । 

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा नं ३ का वडाअध्यक्ष प्रेम बस्नेत र वडा नं ४ का वडाअध्यक्ष सुमन गुरुङ लगायतको टोलीले मृतकका परिवारलाई घरमै पुगेर विपद् व्यवस्थापन कोषबाट ५०-५० हजार रुपैयाँ प्रदान गरेको हो । 

पहिरोमा परि ज्यान गुमाएकी मर्स्याङ्दी गाउँपालिका–३, पल्लोटारकी ६५ वर्षीया अतिरुपा थापाको छोरा महेन्द्र थापालाई ५० हजार रुपैयाँ, ८ वर्षीया शरिषा थापाकी आमा कृष्णकुमारी थापालाई ५० हजार रुपैयाँ, अर्खलेबेसीकी ७१ वर्षीया ललितमाया गुरुङको छोरा ज्ञानेन्द्र गुरुङलाई ५० हजार र वडा नं–४, श्रीचौरकी विष्णुकली गुरुङकी छोरी शर्मिला गुरुङलाई ५० हजार रुपैयाँ पहिलो चरणको राहतस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिरोमा परी बेपत्ता भएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको खोजी कार्य भईरहेको छ । 
‘बाढिपहिरोका कारण घाईते भएका, घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई पनि गाउँपालिकाले सहयोग गर्नेछ,’ उपाध्यक्ष विकले भन्नुभयो ।  

प्रशासनको पनि सहयोग

यसैगरी, पहिरोमै ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले पनि एक÷एक लाख रुपैयाँ राहतस्वरुप रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीपहिरोबाट पूर्ण क्षति भएका ५ घरपरिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिने भने घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । 

मस्र्याङ्दीमा बगेर हराएका २ जना अझै भेटिएका छैनन् । ‘बेपत्ता भएकाहरुको पनि खोजी कार्य जारी छ,’ उहाँले भन्नुभयो ।

प्रजिअ ढकालका अनुसार विपद्बाट घर क्षतिग्रस्त भएका बाहुनडाँडा, अर्खलेबेशी र रामबजारका प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र लमजुङबाट ४ थान टेन्ट, ८ थान त्रिपाल प्रहरी चौकी खुदी पुर्याइएको छ । बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई तत्काल राहत वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।    
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया