निर्मला पन्तलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

 भदौ ३०, २०७५ शनिबार १४:४४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तलाई न्यायको माग गर्दै र बलात्कारविरुद्ध आवाज उठाउन भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा सयौं नागरिक सहभागी भएका छन् । निर्मलाको न्यायका लागि दबाब दिन निर्मलाका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडाैं आएका छन् । 

निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त समेत सहभागी रहेको सो प्रर्दशनीमा हत्यारालाई तत्काल पक्राउ गरी फाँसीको सजाय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो । 

प्रदर्शनकारीहरुले ५० दिन नाघिसक्दा पनि न्याय नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका थिए ।

प्रर्दशनीपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै निर्मलाका बुबा यज्ञराजले भावविह्वल हुँदै आफूहरुलाई न्याय दिन सरकारसँग माग गर्नु भयो । 

प्रर्दशनकारीहरुले निर्मलालाई न्याय नदिएसम्म सरकार विरुद्ध प्रर्दशन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले निर्मला हत्याको प्रमाण नष्ट गरेका प्रहरीहरुलाई पनि कडा कार्वाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

‘निर्मलाको निम्ति न्याय’ भन्दै देशका विभिन्न ठाउँमा नागरिक भेला भइरहेको छ ।

अाजै बिहान गाईघाटको पिपलचोक, काभ्रेको पाँचखाल झापाको काँकरभिट्टामा प्रदर्शन भएको छ ।

यस्तै सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजविराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर झापाको दमक र अर्जुनधारामा पनि निर्मलाको न्यायका लागि प्रदर्शन भएका छन् ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रदर्शनमा सहभागीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् । 

तस्बिरहरु: सामाजिक सञ्जालबाट

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • John Lamba

    Sept. 15, 2018, 3:19 p.m.

    Shame! Shame!! Shame!!! Where is justice? We are now living under 2/3 majority government.

  •  0 Reply

तपाईको प्रतिक्रिया