पहिरोबाट विस्थापित बस्तीमा खाद्यान्न संकट

 भदौ ३०, २०७५ शनिबार १५:१४:९ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको धार्चे गाउँपालिका–७, लापूको खानीगाउँका पहिरो प्रभावितहरुलाई खाद्यान्नको अभाव भएको छ ।

पहिरोबाट विस्थापित ४० घरपरिवारलाई खाद्यान्नको अभाव भएको हो । उनीहरु गएको साउन पहिलो सातादेखि नै विस्थापित भएर छिमेकीको बारी र विद्यालय भवनमा आश्रय लिएर बसेका छन् ।

वर्षाभरिका लागि भनेर जम्मा गरिएको कोदो पानीमा भिजेर बिग्रिएको र नयाँ मकै पनि जोगाउन नसक्दा खानेकुराको अभाव हुन थालेको विस्थापित चन्द्रमान गुरुङले बताउनुभयो । ‘पहिरोको डर भएपछि घरमा राखिएको कोदो निकाल्न पनि सकिएन’, उहाँले टेलिफोनमा भन्नुभयो, ‘घरै असुरक्षित भएपछि बारीको नयाँ मकै थन्क्याउने ठाउँ पनि भएन, सबै मकै बारीमै उम्रियो ।’

घर पहिरोको जोखिममा परेपछि उनीहरुले यो वर्षको मकै बारीमै त्रिपालले छोपेर राखेका थिए । ‘तलबाट जमिनको तातो र माथिबाट त्रिपालको पसिनाले गर्दा सबै मकै उम्रिएको छ, खान मिल्ने खालको छैन’, चन्द्रमानले भन्नुभयो ।

अहिले लगाइएको कोदो मंसिरतिर मात्रै पाक्ने भएकाले तत्काल खाद्यान्नको अभाव भएको स्थानीयले बताएका छन् । पहिरोको डरले विस्थापित भएका ४० मध्ये केही परिवारको अन्नपात सकिएपछि अहिले आफन्त र छिमेकबाट सरसापट गरेर गुजारा गरिएको उनीहरुले बताएका छन् ।

‘गाउँबाट अन्न किन्न जाने बाटो पनि पहिरोले भत्काएको छ’, विस्थापित चन्द्रमान गुरुङले भन्नुभयो, ‘पहिरोको डरले कहिले यता कहिले उता सर्दा केही काम पनि गर्न पाएको छैन, बजारबाट चामल किन्न पैसा पनि छैन ।’

धार्चे गाउँपालिका–७, लापूको खानीगाउँको पुरै बस्ती पहिरोको जोखिममा परेको छ । पहिरोको जोखिमका कारण यसअघि बस्तीका ४० घर विस्थापित भैसकेका छन् । दुई तीनदिन यताको लगातारको वर्षापछि बढेको दुङस्योङ खोलाले पहिरिएको माटो बगाउँदा पहिरो बस्तीतिर सर्दै गएको स्थानीयले बताएका छन् । विस्थापितहरु अहिले बस्दै आएको गोरखनाथ आधारभूत विद्यालय नजिकैको जमिनमा पनि चिरा पर्न थालेको छ ।

बस्तीको सबैभन्दा माथिको जमिन पनि चिरिएपछि बाँकी घरधुरी पनि त्रासमा रहेको स्थानीयको भनाई छ । गाउँका एक सय १३ मध्ये ४० घरधुरी गएको साउनमै विस्थापित भै गोरखनाथ आधारभूत विद्यालय आसपासको जमिनमा त्रिपाल टाँगेर बस्दै आएका छन् ।

अहिले बसोबास गरेको ठाउँमा खानेपानीको पनि अभाव भएको छ । गाउँबाट डेढघण्टा माथिको मुहानबाट ल्याइएको खानेपानीको पाइपलाइन पहिरोले बगाएपछि खानीगाउँभर पानीको अभाव भएको हो । जसका कारण उनीहरु गाउँबाट झण्डै एकघण्टा टाढाको लिओङ खोलाको पानी पिउन बाध्य छन् ।

पहिरो क्रमशः बस्तीतिर सर्दै गएकाले अरु घरपरिवार पनि विस्थापित हुन सक्ने गुरुङले बताउनुभयो । ठाउँठाउँमा गएको पहिरोले बाटो बगाएपछि खानीगाउँका विद्यार्थीलाई विद्यालय आउन–जान समस्या भएको छ ।

गोरखनाथ आधारभूत विद्यालयमा ४ कक्षासम्म मात्रै पढाई हुने भएकाले त्यहाँका ४० भन्दा बढी विद्यार्थी माथिल्लो कक्षा पढ्नका लागि लापूको कालरात्री मावि जाने गरेका छन् । पहिरोको डर बढेपछि उनीहरुमध्ये धेरैजसो विद्यालय आसपासका आफन्तको घरमा बस्न थालेका छन् ।

आफन्तको आश्रय नपाउने केही विद्यार्थी भने विद्यालय जान नसकेको खानीगाउँवासीको भनाई छ । अब पुरानो गाउँमा फेरि बस्न नसकिने भएकाले सुरक्षित गाउँमा सारिदिन खानीगाउँवासीले माग गर्दै आएका छन् ।

खानीगाउँ र खानबेशी बीचको कोलडाँडामा पहिरोको डर नभएकाले त्यही स्थानान्तरण गर्नु राम्रो हुने स्थानीयलाई उदृत गर्दै वडाध्यक्ष सूर्यमान गुरुङले  बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले खानीगाउँसहित पहिरोको जोखिममा परेका अन्य १० बस्तीको भौगर्भिक सर्भेक्षणका लागि पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरेको छ ।

प्राधिकरणले त्यसबारे कुनै निर्णय गरिनसकेको कार्यकारी समिति सदस्य हरेराम पराजुलीले बताउनुभयो । अहिलेको बसाई निकै असहज भएकाले पुरानो बस्तीमा बस्न मिल्ने नमिल्नेबारे छिटो टुंगो लगाइदिन उनीहरुले आग्रह गरेका छन् ।

स्थानीयबासिन्दा अहिले खुल्ला जमिनमा त्रिपाल टाँगेर बस्दै आएका छन् । ठूलो पानी परेको बेला भने नजिकैको विद्यालय र एउटा सामुदायिक भवनमा आश्रय लिने गरेको त्यहाँका बासिन्दाको भनाई छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया