दलाललाई चार लाख नदिई कुवेतबाट मायाको पाँच दिनमा भयो उद्धार

 जेठ २१, २०७५ सोमबार १५:३०:५२
unn.prixa.net

रीना श्रेष्ठ/सिन्धुपाल्चोक । 

सिन्धुपाल्चोकको स्याउलेकी माया नगरकोटीले २ वर्ष दुवई बस्दा सात लाख रुपैयाँ कमाउनुभयो । घरेलु कामदारकै रुपमा गरेको कामले राम्रो कमाई भएपछि घर आएकी माया फेरि पनि विदेश नै जान खोज्नुभयो ।

झण्डै तीन महिना घर बसेर उहाँ पहिलाको जस्तै काम र कमाइ हुने ठाउँ खोज्न काठमाडौं आउनुभयो । तर त्यतिबेला सरकारले खाडीका देशमा महिलालाई घरेलु कामदारका रुपमा जान रोक लगाइसकेको थियो । 

त्यसले अलमलमा परेकी माया दलालको फन्दामा पर्नुभयो । काभ्रेका सुरेश घिसिङले उहाँसहित ५ जनालाई महिनाको ४०÷४५ हजार कमाई हुन्छ भन्दै कुवेत पठाउने भए । तर अवैधानिक रुपमा ।

उनले मायालाई एक त सरकारको निर्णयको कारण देखाए अनि अर्को मायाको पासपोर्टमा लगाइएको × चिन्ह । ‘एक त अहिले सरकारले नेपालबाट पठाउँदैन अनि अर्को त पासपोर्टमा × लेखिएकाले नेपालबाट मिल्दै मिल्दैन भन्यो’ माया भन्नुहुन्छ । सुरेशले अर्को नरेन्द्र भन्ने व्यक्ति मार्फत मायासहित पाँच जनालाई भारतको बाटो हुँदै कुवेत पठाए । कुवेत हिँडेका माया र उहाँका साथीहरुले एक हप्ता त भारतमै बिताए । गएको ३ गते माया कुवेतको एउटा घरमा पुग्नुभयो । 

मायाले त्यहाँ कपडा धुने, आइरन लगाउने, सरसफाई गर्नुपर्ने र बच्चालाई खाना खुवाउनु पथ्र्यो । पुगेको केही दिनमै मायाले १६ घण्टा खट्नुपरेको अनि खाना पनि आधा पेट मात्रै दिइरहेको भन्दै श्रीमान ग्याल्वो लामालाई फोन गर्नुभयो । ‘एक दिन ८ जना बच्चाहरुलाई खाना खुवाइरहेका बेला बच्चाले खाएनन, रोए त्यतिबेला त मलाई साहुनीले पिटी’ माया भन्नुहुन्छ । 

यातना दिने क्रम बढेपछि मायाले श्रीमानलाई तत्काल नेपाल फर्काउन आग्रह गर्नुभयो । मायाले आफूलाई पठाउने सुरेश घिसिङलाई पनि गुहार्नुभयो । तर सुरेशले त्यहाँबाट फर्किन चार लाख रुपैयाँ चाहिने बताए । ‘हामीले एक पैसा लिएको छैन अनि किन चार लाख दिने भन्दा हामी त खाइसक्यौं हिसाब गर भन्यो’ माया भन्नुहुन्छ ‘त्यतिबेला बल्ल हामीलाई पठाएर उसले चार लाख रुपैयाँ खाएको रहेछ भन्ने बुझें ।’

तर मायाका श्रीमानले सुरेशलाई छोड्नुभएन । धेरै पटक भनेपछि सुरेशले नरेन्द्रलाई भन्नु भने । नरेन्द्रलाई न मायाले चिन्नुभएको थियो न त उहाँका श्रीमानले नै । विदेश जाने बेलामा नरेन्द्रसँग मायाले फोनमा मात्रै कुरा गर्नुभएको थियो । ग्याल्बोले नरेन्द्रलाई पनि फोन गरेर श्रीमती समस्यामा परेकाले झिकाइदिन आग्रह गर्नुभयो । तर नरेन्द्रले मायालाई अर्को घरमा सार्न लागेको जवाफ दिए । 

तर ग्याल्बोले आफ्नी श्रीमतीलाई विदेशमा धेरै तनाव भएकोले नेपाल निकालिदिन नै अनुरोध गर्नुभयो । तर नरेन्द्रले पनि मायालाई घर फर्काउन ४ लाख रुपैयाँ नै लाग्ने बताए । 

ग्याल्बोले चार लाख नसक्ने भन्दै टिकटको खर्चसम्म दिन सक्ने बताए । तर नरेन्द्रले मायालाई विदेश पठाउन धेरै पैसा खर्च भइसकेकाले चार लाख दिनै पर्ने बताए । दुवै जनाले पैसा मागेपछि ग्याल्बो लामा ऋण गरेरै भएपछि श्रीमतीलाई घर ल्याउने सोचमा पुग्नुभयो ।पैसा खोज्ने क्रममा ग्याल्बोले उहाँका मामा मानबहादुर तामाङलाई भेट्नुभयो ।

तर मानबहादुरले ग्याल्बोलाई पैसा होइन मायालाई नेपाल झिकाउने उपाय बताउनुभयो । मानबहादुरले केहीदिन अघि मात्रै त्यसरी नै विदेशमा अलपत्र परेका व्यक्तिलाई सूचना केन्द्र मार्फत उद्धार गराउनुभएको थियो । 

मामाको कुरा सुनेपछि ग्याल्बोले पनि केन्द्रमा निवेदन दिनुभयो । ग्याल्बोको निवेदन पाएको केन्द्रले त्यही दिन कुवेतमा रहेको नेपाली दूतावासलाई फोन मार्फत जानकारी गरायो । कुवेतको नम्बर लिएको दूतावासले मायालाई फोन गरेर भागेर दूतावास आउन सुझाव दियो । भागेर दूतावास पुगेकी मायालाई ५ दिनमै नेपाल पठाइदियो । माया गएको १८ गते शुक्रबार नेपाल फर्किनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया