नन्दलालले भने – वामदेव बाँकेमा चुनाव लड्ने कुरा हल्ला मात्रै हो

 भदौ ३०, २०७५ शनिबार १८:१५:३८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद नन्दलाल रोकायले आफूले सांसद पदबाट राजीनामा दिएर पार्टी नेता बामदेव गौतमलाई क्षेत्र खाली गर्न लागेको भन्दै अनावश्यक भ्रम फैल्याइएको बताउनुभएको छ  ।

उज्यालोसँग कुरा गर्दै सांसद रोकायले पार्टी भित्रैबाट अनावश्यक र नचाहिने हल्ला फैल्याइएको दाबी गर्नुभयो । सांसद रोकायले राजीनामा गरी नेता गौतमका लागि क्षेत्र खाली गर्न लागेको विषयमा सञ्चार माध्यममा आएपछि बाँकेका नेकपाका नेता कार्यकर्ताले चासो दिएका छन् । 

पार्टीभित्रैबाट पनि निराधार र नचाहिने हल्ला फैल्याइएको छ’, रोकायले भन्नुभयो, ‘क्षेत्र खाली गर्नेमा मेरो सहमति हुनेछैन् ।’

२००६ सालमा सुर्खेतको बजेडीचौरमा जन्मिएका रोकायले २०२४ सालदेखि बाँकेको सीतापुरबाट कम्युनिष्ट पार्टीको राजनीति सुरु गर्नुभएको हो । रोकाय २०३९ देखि ४४ सालसम्म सीतापुर गाविसको प्रधानपञ्चमा जनपक्षिय उम्मेदवार भई निर्वाचित हुनुभयो । 

झण्डै पाँच दशकसम्म कम्युनिष्ट पार्टीमा सक्रिय रोकायले किसान संगठन हुँदै वडा गाउँ कमिटी र २०३९ सालमा नेकपा माक्र्सवादीको जिल्ला कमिटी सदस्य हुनुभयो ।
२०४२ देखि ४८ सालसम्म रोकाय पार्टीको जिल्ला र अन्चल कमिटी सदस्य भई पार्टी काम गर्नुभयो । २०४७ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेका रोकाय पार्टीको अञ्चल सदस्य र बाँके जिल्ला कमिटिको उपसचिव बन्नुभयो

लामो समयसम्म पार्टीको अञ्चल सदस्य र जिल्ला उपसचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका रोकाय २०६५ सालमा भएको पार्टीको बुटवल महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन भए भने लगत्तैदेखि बाँके जिल्ला कमिटिको पहिलो अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो । रोकायकै नेतृत्वमा बाँकेमा नेकपा एमालेले २०७० सालमा पहिलो पटक खाता खोल्दै ३ क्षेत्र जित्यो ।

पार्टीमा इमान्दार र त्यागी नेताको छवी बनाएका रोकायलाई बलीको बोका बनाउन लागिएको भन्दै कार्यकर्ता पंक्तिले प्रतिक्रिया दिएका छन् ।  तर सधैँ पार्टी नीति र नेतृत्वको पक्षमा लाग्ने रोकायलाई माथिल्ला नेताले आग्रह गरेमा सजिलै पद छोड्न सक्ने स्वभाव भएको केही कार्यकर्ताले बताएका छन् ।

प्रतिनिधिसभा चुनावमा नेकपा एमालेका उम्मेदवार रोकायले ३१ हजार ६०१ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका वादशाह कुर्मीले २६ हजार ६ सय १७ मत प्राप्त गरेका थिए । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया