चाउचाउको विषयलाई लिएर बालकको हत्या भएको खुलासा

 भदौ ३०, २०७५ शनिबार १९:४८:२५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – छबिस पाथीभेरा गाउँपालिका वडा नं. ७ मजखोरीका महेश बोहराका ८ वर्षका छोरा कुशल बोहराको  हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।

चाउचाउ र मोबाइलको विषयमा बिबाद हुँदा गाउँकै झण्डै १४ वर्षका बालकले नै ८ वर्षका बालकको हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धिताले बताउनुभयो  ।

हरितालीका तिजको दिन ८ वर्षका बालकले आफ्ना अभिभावकको मोबाइल समातेको र गाँउकै १४ वर्षका बालकले नजिकैको पसलबाट चाउचाउ किन्न पठाएको बुझिन आएको प्रहरीको भनाई छ ।

चाउचाउ किनेर गएका बालकलाई १४ वर्षका बालकले मोबाइल माग्न खोजेको र सानो कुरामा ८ वर्षका बालकले गाली गालौज गरेपछि १४ वर्षका बालकले कुसलको हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुखको भनाई छ । यस विषयमा थप अनुसन्धान भै रहेको डीएसपी प्रविण धिताले बताउनुभएको छ ।

चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुङ्गाले हानेर कुशलको हत्या गरेको अर्का बालकले स्वीकार गरेका छन्  । 

स्कुलबाट फर्केपछि बुवाको मोबाइल लगेर कुशल मोबाइल खेल्दै तिजको कार्यक्रममा गएका थिए । बुधबार स्थानीय मजखोरी माध्यमिक विद्यालयमा भएको तिजको कार्यक्रम हेर्न गएका उनको बिहीबार सा“झ सोही विद्यालय नजिकै मकै बारीमा शव फेला परेको थियो ।

साँझसम्म छोरा घर नफर्केपछि स्थानीयहरुले राति अबेरसम्म कुशलको खोजी गरेका थिए । भोलिपल्ट ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउको, गाला र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो । कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कूलमा यूकेजीमा अध्ययनरत छात्र थिए । 

१४ वर्षका बालकले ८ वर्षका बालकको हत्या गरेको कुरा स्वीकार गरिसकेको बताउँदै डीएसपी प्रविन धितालले भन्नुभयो, ‘हत्या उसैले गरेको हो भन्ने कुरा निश्चित भैसकेको छ ।

आइतबार अदालत पेश गर्ने छौं ।’ १४ वर्षका  बालकको उमेर परीक्षणपछि कस्तो सजाय हुने भन्ने कुरा अदालतले निक्र्यौल गर्ने धितालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया