पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस : केही सुरक्षाकर्मीलाई निलम्बन गरी अनुसन्धान गर्न माग

 भदौ ३०, २०७५ शनिबार २०:५६:४१ | रासस
unn.prixa.net

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भीक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ ।

हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्रीलाई प्रारम्भीक प्रतिवेदन पेश गरेको हो । 

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई शनिबारको मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको छ । 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन भएको बताउनुभयो ।

पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारबाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह समेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया