वैदेशिक रोजगारीको बहानामा बेचिन्छन महिला

 जेठ २१, २०७५ सोमबार १६:३३:५ | रासस
unn.prixa.net

कञ्चनपुर जेठ २१ – वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर दलालका लागि सहज नाका बनेको छ । 

बर्षेनी सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने भन्दै महिलालाई चलाखीपूर्ण ढंगले नाका कटाउने गरिएको छ । 

‘हामीलाई नाकामा छल्न प्राय महिला रोजगारीका लागि भारतको सिमला र आफन्त भेट्न दिल्लीसम्म जान लागेको भन्छन’, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भन्नुभयो, ‘दिल्ली र सिमला भन्ने प्रायः महिला तेस्रो मुलुक जान लागेका हुन्छन् ।’ अधिकांश महिलालाई महिला दलालले नै भारत लैजाने गरेको पाइएको छ । 

स्थलमार्ग भएर भारतको राजधानी दिल्ली जाने सबैभन्दा कम दूरीको नाका भएकाले यहाँ मानव बेचबिखन निकै चुनौतीपूर्ण रहेको भट्टको भनाइ छ । पछिल्लो समय भारत हुँदै अवैध रुपमा बहराइन, दुवई, कुवेत, किर्गिस्तान, मलेसियालगायत मुलुकमा जाने क्रम बढेको छ । 

बिचौलियाको समूहबाट युवतीसँगै घरका अन्य सदस्य पनि विश्वासमा परेर महिलालाई दिल्ली हवाईमैदानसम्म पुर्‍याउन आफै जाने गरेका छन् । माइती नेपाल कञ्चनपुरले एक महिनामा १० देखि १२ महिलालाई सीमाबाट उद्धार गरिरहेको तथ्याङ्क छ । 

गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत भएर तेस्रो मुलुक जाने महिला सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रसुवालगायत जिल्लाका बढी रहेको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्ट बताउनुहुन्छ । 

पछिल्लो पाँच महिनायता भारतको पञ्जावबाट एक महिलाको उद्धार गरिएको छ । भारतभन्दा तेस्रो मुलुकमै बढी महिला लगिन्छन् । नियन्त्रणका लागि सीमामा दरिलो संयन्त्र आवश्यक छ । माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो । 

माइती नेपालमा महिलाको खोजतलासका लागि सन् २०१७ मा २०४ जनाको निवेदन परेको थियो । तीमध्ये २८ जना मात्रै भेटिएको अनि यो वर्ष ५५ जना हराएको निवेदन परेकोमा अहिलेससम्म १० जना मात्रै फेला परेका उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया