गर्भवती श्रीमतीका अगाडि श्रीमानको विभत्स हत्या

 भदौ ३१, २०७५ आइतबार ११:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको तेलंगाना प्रदेशको  नालगोंडा जिल्लाको एक अस्पतालबाहिर २४ वर्षीय पेरुमाल्ला प्रणयको उनकै गर्भवती श्रीमती अमृताको अगाडि हत्या भएको छ ।

अस्पतालमा श्रीमतीको स्वास्थ्य जँचाउन डाक्टरलाई भेटेर उनीहरु बाहिर निस्कँदै थिए । त्यत्तिकैमा पछाडिबाट एक व्यक्तिले धारिलो हतियारले प्रणयको गर्दन छिनाइदिए ।

प्रणयको घटनास्थलमै मृत्यु भयो । 

प्रणय र अमृताले यसै वर्षको जनवरी ३१ मा प्रेम विवाह गरेका थिए । यो विवाहबाट दुवै जनाका परिवार सन्तुष्ट थिएनन् । तर प्रणयको परिवारले भने केही समयपछि दुवैको विवाहलाई स्वीकारेको थियो । अमृताको परिवार भने विवाहबाट खुसी थिएनन् ।

प्रहरीका अनुसार प्रणयको हत्यापछाडि अमृताको परिवारको हात हुन सक्ने आशंका रहेको छ ।
जिल्लाका एसपी रंगनाथले बीबीसी तेलुगूसँग कुरा गर्दै भनेका छन्, ‘हामीहरु यसलाई अनर किलिङ मानेर अनुसन्धान गरिरहेका छौँ ।’

अमृताकै बुवामाथि आशंका

प्रणय दलित समुदायका हुन् भने अमृता वैश्य । अमृताका बुवा रियल स्टेट व्यवसायी हुन् । प्रहरीले हत्याको पछाडि अमृताकै बुवाको हात हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले अमृताका बुवा मारुति रावलाई अभियुक्त १ र भाइ श्रवणलाई अभियुक्त मानेर अनुसन्धान सुरु गरेको छ ।

प्रणय १० कक्षामा थिए, अमृता ९ कक्षामा थिइन् जब उनीहरुको दोस्ती सुरु भएको थियो । दुवै जनाले बीटेक गरे । जब दुवैले आ–आफ्नो परिवारलाई विवाहको योजना सुनाए । अमृताका बुवा मारुतिले आफूले त्यस्तो विवाह नमान्ने बताए ।

मारुतिले छोरी फिर्ता गर्ने प्रयास गरिरहे 

परिवारले नमानेपछि प्रणय र अमृताले हैदराबाद गएर आर्य समाज विधिबाट विवाह गरे । त्यसपछि दुवै फर्केर प्रणयको घरमा बस्न थाले । 

विवाहपछि मारुतिले छोरीलाई फिर्ता बोलाउन कैयौँ प्रयास गरे तर अमृता मानिनन् । प्रणयका बुवा बाला स्वामीले बीबीसीसँग कुरा गर्दै विवाहको २ महिनापछि बाट नै प्रणयको हत्याको षड्यन्त्र रचिएको बताए । यसबीचमा अमृता गर्भवती पनि भइन् । शुक्रबार प्रणय र उनकी आमा अमृतालाई लिएर मिरयालगुडामा रहेको एक निजी अस्पतालमा चेक गराउन गएका थिए ।

सीसीटीभीमा कैद छ पूरा घटना

उनीहरु दिउँसो १२ बजे अस्पतालभित्र गएका थिए । उनीहरु जँचाएर साढे एक बजे बाहिर निस्के । एक व्यक्तिले उनीहरुलाई पछ्याइरहेको थियो । केही पर पुगेपछि त्यो व्यक्तिले पछाडिबाट प्रणयको गर्दनमा धारिलो हतियारले हान्यो । प्रणयको त्यहीँ ज्यान गयो । 

हत्यारा त्यहाँबाट भाग्न सफल भए पनि सीसीटीभीको सहयोगले उसको पहिचान भएको प्रहरीले जनाएको छ । तर उसको गिरफ्तारी भने भैसकेको छैन । 

प्रहरीका अनुसार विवाह भएको केही दिनपछि प्रणय र अमृताले सुरक्षा मागेका थिए । प्रहरीले अमृताका बुवा मारुतिलाई बोलायो । मारुतिले आफूले केही नगर्ने बताए । घटना त्यत्तिकैमा सेलायो । प्रहरीका अनुसार यो हत्यामा भाडाका हत्यारा प्रयोग भएको हुनसक्छ ।

‘मैले सहर छोड्न भनेको थिएँ’

प्रणयका बुवा भन्छन्, ‘मारुति राव करोडपति छन्, उनी पैसाको बलमा जे पनि गर्न सक्छन् । त्यसैले मैले छोराबुहारीलाई सहरबाट टाढा गएर बस्न भनेँ । तर मेरी बुहारी मानिनन् । उनले बुवालाई मनाउँछु भनिन् ।’

उनी भन्छन्, ‘अमृता र उनको बुवाआमाको कुराकानी पनि चलिरहेको थियो । हामीलाई लाग्यो उनीहरु परिवर्तित भए । तर उनीहरुले मेरो छोराको हत्या गरे ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Umesh

    Sept. 16, 2018, 5:30 p.m.

    दु:खलाग्दो घटना हो यो , दोषीलाई कारवाही गरियोस् जसरी पनि /

  •  0 Reply

तपाईको प्रतिक्रिया