बाँकेका यादवको घटनाको छानवीन गर्न संसदीय समिति गठन गर्नुपर्ने राजपाको माग

 भदौ ३१, २०७५ आइतबार १३:२४:२ | उज्यालो सहकर्मी

प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको घटनाको छानवीन गर्न राष्ट्रिय जनता पार्टी नेपालले संसदीय समिति गठन गर्न माग गरेको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद चन्दा चौधरीले प्रहरी नियन्त्रणमै मृत्यु भएका यादवको घटनाको तथ्यतथ्य छानवीन गर्न संसदीय समिति गठन गर्न माग गर्नु भएको हो ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउने क्रममा पक्राउ परेका यादवको प्रहरी नियन्त्रणमै रहेका बेला ज्यान गएको थियो ।

त्यसैगरी सांसद चौंधरीले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै सरकारको चर्काे आलोचना गर्नुभयो । 

उहाँले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेडलाईट एरिया तोकेर कर असुली गर्ने भनि दिएको अभिव्यक्तिले महिलाहरुको बेइज्जत गरेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया