मोदीको जनकपुर भ्रमणमा भएको खर्च सार्वजनिक गर्न कांग्रेसको माग

 जेठ २१, २०७५ सोमबार १७:२:४५ | शैलेन्द्र महतो

धनुषा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ मा भएको जनकपुर भ्रमणको क्रममा प्रदेश सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।

सोमबार बसेको प्रदेश नं. २ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले मोदीको जनकपुर भ्रमण भएको एक महिना बित्न लाग्दा समेत हरहिसाब नगरेकोले यथाशिघ्र सार्वजनिक गर्न माग गर्नुभयो ।

बैठकको शुरुमै प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रीले जितेन्द्र सोनलले प्रदेश सरकार जनताकै अपेक्षा अनुसार इमान्दारितापूर्वक काम गरिरहेको दावी गर्दै केही पत्रकार र मिडियाले अपुष्ट समाचार सम्प्रेषण गरी प्रदेश सरकारलाई बदनाम गराउने काम गरिरहेको भन्दै आक्रोश पोख्नु भएको थियो ।

उहाँले केन्द्र सरकामा फोरम नेकपाले सहमति गरे पनि प्रदेश सरकारमा त्यसको असर नपर्ने बताउनुभयो । मन्त्री सोनलले प्रदेश सरकारलाई राजपाको समर्थन निरन्तर रहिरहने बताउँदै मधेशी जनताको भावना अनुसार नै सरकार चलेको दावी गर्नुभयो ।  प्रदेश सरकारले अहिलेसम्म गरेको कामले प्रदेश, देश र छिमेक देश भारतका जनता समेत गौरवान्वित रहेको मन्त्री सोनलको भनाई छ ।

त्यसपछि प्रतिपक्षी दलका संसदीय दलका नेता यादवले प्रदेशसभामा सफाई दिएर आफु चोखो हुँ ठान्नु भन्दा मोदी भ्रमणको एक महिना बित्न लाग्दा समेत सरकारले किन हरहिसाब सावैजनिक नगरेको भन्दै प्रश्न गर्नुभयो । ‘एक महिना बित्न लागेको छ, खर्च भएको रकम कहाँबाट आयो ? कति खर्च भयो ? कहाँ भयो ? लगायतका प्रश्न जनताका लागि स्वभाविक हो ।’ प्रतिपक्षी दलका नेता यादवले भन्नुभयो, ‘यहाँ सफाई दिनुपर्ने जरुरी छैन र हरहिसाब सार्वजनिक गर्नुस् । तपाईँ इमान्दार हो कि बेइमान आफै प्रष्ट हुन्छ ।’

दोस्रो अधिवेशन अन्तर्गत बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रमसम्बन्धी पत्र पढेर सभामुख सरोज यादवले सुनाउनुभयो ।

उहाँले प्रदेश २ सरकारको २०७५।०७६ को नीति तथा कार्यक्रम आउँदो जेठ २४ गते दिउँसो डेढ बजे प्रदेशसभामा प्रस्तुत हुने भएकाले सबै प्रदेश सांसदलाई अनिवार्य उपस्थितिका लागि जानकारी गाराउँदै मंगलबार दिउँसो ३ बजेसम्मको लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया