पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २० जना घाइते

 भदौ ३१, २०७५ आइतबार १९:३५:५६ | रासस
unn.prixa.net

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएको पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् ।

कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा रेल लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान रेल सेवाका केन्द्रिय प्रवक्ताले बताए ।

रेल दुर्घटना भएको केही समयभित्रै प्रहरी, सुरक्षाकर्मीलगायतका उद्धार समूहहरू घटनास्थल पुगी घाइते सबैजनालाई उपचारका लागि एटकस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले सघन उपचार कक्ष ९आइसीयु० मा राखी उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घतनाग्रस्त रेल दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी शहर पेशावरतर्फ गइरहेको थियो । दुर्घटनापछि उक्त खण्डमा रेल सेवा अवरूद्ध भएको छ ।
यसैबीच घटनाबारे अनुसन्धान गर्न एउटा विज्ञहरू सम्लग्न रहेको छानविन समिति गठन गरी जिम्मेवारी दिइसकिएको प्रवक्ताले बताए ।

पाकिस्तानको संसदमा पेश भएको एक रिपोर्ट अनुसार पाकिस्तानमा सन् २०१३ देखि २०१६ को अन्त्यसम्म ठूला तथा साना गरी ३३८ रेल दुर्घटना भएका छन् भने उक्त घटनाहरूमा ११८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कमजोर रेलमार्ग, पूराना गाडी, गैर–व्यवसायिक कर्मचारी र पूराना संरचनाका कारण दुर्घटना हुने गरेका रिपोर्टमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया