वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल, कंसाकारलाई नैतिक संकट

 भदौ ३१, २०७५ आइतबार २३:५५:१६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं - सरकारले मदन खरेललाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मदन खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।  

गएको शुक्रबार सरकारले झापाका खरेललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । अब खरेलले सरकारले दिएको जिम्मेवारी अनुसार निगमको व्यवस्थापकीय काम गर्नुहुनेछ । 

कार्यकारी अध्यक्षका रुपमा खरेल आइसकेपछि हालका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पद छाड्न नैतिक दवाब परेको छ । अब खरेलको मातहतमा रहेर काम गर्ने या राजीनामा दिनेमध्ये दुईवटा विकल्प कंसाकारसँग रहेका छन । 

२०७० सालमा निगमको महाप्रबन्धक भएका खरेलले एक वर्ष नपुग्दै राजीनामा दिनुभएको थियो । त्यतिबेला सरकारले उहाँलाई काम गर्न नसकेको आरोप लगाएको थियो । तर खरेलले भने ट्रेड युनियनको दबाबका कारण राजीनामा दिएको बताउँदै आउनुभएको थियो ।

अहिले कंसाकारलाई पनि २४ अर्ब रुपैयाँमा २ वटा वाइडबडी जहाज ल्याउँदा अनियमितता गरेको आरोप लागेको छ । 

यस्तै निगमको बजार विस्तार गर्न नसकेको आरोप पनि लागेको छ । सरकारले  सोझै हटाउँदा विवाद हुने डरले खरेललाई कार्यकारी अध्यक्ष बनाएर कंसाकारलाई दबाबमा राख्न खोजेको बुझिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया