आज नचलेका सबै गाडीको रुट परमिट आजैदेखि निलम्बन गर्छु : महानिर्देशक भट्टराई

 बैशाख २१, २०७५ शुक्रबार १९:३७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ – सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन गर्ने भएको छ ।

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभएको हो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यवसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आजै साँझदेखि लागु हुने रुट परमिट निलम्बन गर्ने तयारी भइरहेको बताउनुभयो । 

सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उहाँले बताउनुभएको हो ।

त्यसैगरी सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरुले बैँकबाट धमाधम पैसा निकालेको सुचना प्राप्त भएको भन्दै उहाँले बैँक खाता रोक्नका लागि गृह मन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताउनुभयो । 

बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्काका लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्र पठाउने तयारी भइरहेको भट्टराइले बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथ ामहासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समितिका पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

सरकारले यातायात व्यवसायीमाथि कुनै अन्याय नगरेको दावी गर्दै उहाँले ऐनमा भएका व्यवस्था लागु गर्न खोज्दा व्यवसायीले अनावश्यक रुपमा आपत्ति प्रकट गरेका आरोप लगाउनुभयो । 

‘२०४९ को ऐनलाई कार्यविधिमार्फत लागु गर्न खोजिएको हो । प्रतिस्पर्धी व्यवसायीलाई प्रोत्साहन गर्ने सर्वोच्चको आदेशअनुसार पनि सरकार चल्न खोजेको हो । तर व्यवसायीले कार्यविधी नै पढेनन्, कुरै नबुझी विरोध गरिरहेका छन्’ भट्टराईले भन्नुभयो । 

यातायात व्यवसायसँग सम्बन्धित व्यवसायिक संस्थाहरु नवीकरण नगरी कम्पनी, फर्म वा सहकारीमा रुपान्तरण गर्ने सरकारको निर्णयमाथि पुनर्विचार नहुने भन्दै उहाँले व्यवसायीहरु औपचारिक छलफलमै नआएको आरोप लगाउनुभयो । 

‘सरकार सम्झौता गर्दैन । अब यातायात क्षेत्र यात्रुमैत्री र सुविधायुक्त हुन्छ । नयाँ व्यवसायीलाई पनि आकर्षित गर्छौँ । तर सरकार एक कदम पछि हट्दैन’ उहाँले भन्नुभयो । 

यातायात व्यवसायीले भने आज देशभर सवारी साधन ग्यारेजमा थन्क्याएर बसेका छन् । जसका कारण यात्रुले सास्ती खेप्नु परेको छ । भट्टराईले व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएमा निजी विद्यालय, प्रहरी, नेपाली सेनालगायतका विभिन्न क्षेत्रका बसहरु प्रयोग गरेर यात्रुलाई सेवा दिने बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया