राजदूत नभए पनि घरभाडा तिर्दै सरकार, वार्षिक करोडौं रुपैयाँ नोक्सान

 असोज १, २०७५ सोमबार १२:४२:५१ | उमाकान्त पाण्डे

युएई –  युएईका लागि नेपाली राजदूत अढाई वर्षदेखि नियुक्त भएका छैनन् । राजदूत नहुँदा युएईमा रहेको नेपाली दूतावास कार्यवाहकको भरमा चलिरहेको छ । 

राजदूत नहुँदा पनि आबुधाबीमा रहेको राजदूत बस्ने दुई तल्ले घरको भाडा भने सरकारले तिर्दै आएको छ । वार्षिक झण्डै दुई लाख २० हजार दिर्हाम अथवा झण्डै ७० लाख रुपैयाँ राजदूतको घरभाडामा नोक्सान भइरहेको छ ।

मान्छे नबस्ने घरको मात्रै होइन, पानी बत्तीको न्युनतम शुल्क मासिक तिर्नुपर्ने भएकाले वार्षिक करोड भन्दा धेरै सरकारले नोक्सान व्यहोरेको छ । राजदूत नभए पनि निवासको बर्सेनि सम्झौता नवीकरण भइरहेको छ । हरेक वर्षको डिसेम्बर अन्तिम हप्ता सम्झौताको म्याद सकिन्छ । 

आफू युएई आउँदा सम्झौता नवीकरण भइरहेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो । ‘म आउदा सम्झौता भइसकेको थियो, रद्द गर्न मिलेन, अब छिट्टै राजदूत नियुक्त हुने कुरा छ, प्रयोगमा आउन सक्छ,’ उहाँले भन्नुभयो । 

नेपालबाट आउने केही सरकारी टोली त्यही घरमा बस्ने गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वमा गएको वर्ष आएको ९ सदस्यिय टोली पनि त्यही बसेर फर्केको थियो । 

अढाई वर्षदेखि कार्यवाहकको भरमा 

युएईस्थित नेपाली दूतावास अढाई वर्षदेखि कार्यवाहको भरमा चलिरहेको छ । धनन्जय झा राजदूतको कार्यअवधि सकेर २०७३ वैशाख ३ गते नेपाल फर्किनु भएको हो । त्यसयता युएईका लागि राजदूत नियुक्त भएका छैनन् । 

राजदूत झा युएईबाट फर्किए लगत्तै उपनियोग प्रमुख रहेका नेत्रबहादुर टण्डनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नु भएको थियो । युएईका लागि निर्धारित कार्यअवधि सकिएको र राजदूत पद नपाएपछि अवकास पाउन केही समय बाँकी रहँदै सेवाबाट राजिनामा दिएर टण्डन नेपाल फर्किनुभएको थियो । 

त्यसपछि रिक्त रहेको पदमा राजदूत नियुक्त नगरी साउदीमा रहेको दूतावासमा समेत काम गरेका सागरप्रसाद फुयाँललाई ८ महिना अघि कार्यवाहककै रुपमा युएई पठाइयो ।

नेपाल–युएई ४१ वर्षे कुटनीतिक सम्बन्ध 

नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको गएको जनवरी २२ मा ४१ वर्ष पुग्यो । २२ जनवरी १९७७ मा स्थापित सम्बन्धलाई नेपालले युएईमा सन् २००४ को अप्रिल ११ मा दूतावास स्थापना गरेर थप उचाइमा पुर्‍याएको हो ।

सन् २००४ मा कार्यवाहक राजदूत राखेर दूतावास सुरु गरिएको थियो भने २००७ डिसेम्बर २१ बाट युएईमा राजदूतले जिम्मेवारी सम्हालेका थिए । 

मधुवन पौडेल र मोहनकृष्ण श्रेष्ठले कार्यवाहक राजदूतको रुपमा काम गर्नुभएको थियो । त्यसपछि राजदूत भएर अर्जुनबहादुर थापाले काम गर्नुभयो । थापाको कार्यकाल सकिए लगत्तै उपनियोग प्रमुख तथा हालका शिष्टाचार महापाल दिपक अधिकारीले समेत कार्यवाहकको रुपमा काम गर्नुभएको थियो । त्यसपछि राजदूतको रुपमा झा युएई आउनु भएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Ramesh Bhusal

    Sept. 18, 2018, 7:21 a.m.

    युएईमा हुने नेपाली सम्बन्धित समाचार सामाग्री उज्यालोले पस्किरहेकोमा आभारी छौ,उज्यालोको उमाकान्त पाण्डेले युएईबाट नीयमित रुपमा गरेको समाचार सम्प्रेशणले हामीलाई फाईदा दिएको छ/सरकारलाई समेत झकझकाउने यस्ता सामाग्री अझै खोजीखोजी पस्किनुहोला है ।

  •  0 Reply

तपाईको प्रतिक्रिया