६ अर्बको लगानी चाहिने औद्योगिक क्षेत्रमा १५ करोड बजेट !

 असोज १, २०७५ सोमबार १७:४:४० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको नौवस्तामा निर्माण सुरु भएको नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको डीपीआर अनुसार सम्पूर्ण लागत ६ अर्ब रुपैयाँको छ ।

तर चालु आर्थिक वर्षका लागि दुईवटा सरकारले गरी जम्मा १५ करोड रुपैयाँ मात्रै बजेट विनियोजना गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि केन्द्र सरकारले १० करोड र प्रदेश ५ को सरकारले ५ करोड रुपैयाँ बजेट छुट्टयाएको नौवस्ता औद्योगिक क्षेत्र परियोजनाका प्रमुखको जिम्मेवारी समेत सम्हालेका नेपालगञ्ज औद्योगिक क्षेत्र  व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिनुभयो ।

यसवर्ष यही बजेटमा काम गरी आउँदो वर्ष गर्नुपर्ने काम र लागत रकमसहित प्रस्तावना पेश गरिने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रमा १ सय २२ जना उद्योगीहरुले उद्योग सञ्चालनका लागि पूर्व आशयपत्र दर्ता गरेका छन् ।

नौवस्तामा ३ सय ३८ बिघा (चार हजार ३ सय ९४ रोपनी ) क्षेत्रफलमा  झण्डै दुई सय हाराहारीमा उद्योग स्थापना हुन सक्ने प्रमुख पुनले बताउनुभयो । बहुराष्ट्रिय कम्पनीको  उद्योग भए झण्डै  १ सय २५ को हाराहारीमा मात्रै उद्योग स्थापना हुनेछन् । तर अहिलेसम्म बहुराष्ट्रिय कम्पनीका तर्फबाट पूर्व आशयपत्र दर्ता भएको छैन् ।

औद्योगिक क्षेत्रको डीपीआर प्लानिङ्गमा एक उद्योगका लागि ९ देखि ३० रोपनीसम्म क्षेत्रफल छुट्टाइएको छ । प्लाष्टिकजन्य, पाइपजन्य, पानी, जडिबुटी जन्य, नुडल्स, डेरी, बेवी फुड, हर्वल, टेक्सटायसल, मेटल, सुगर मिल, रायस एण्ड आयल, कोल्डडिंक्स, साबुनलगायतका उत्पादनमुलक उद्योग संचालन गर्ने तयारी छ ।

औद्यागिक क्षेत्रमा अहिले तारबार लगाउने कार्य भइरहेको छ । सडकको ट्रयाक खोलेर सामान्य प्लट निर्माण गरी औद्योगिक क्षेत्र र व्यवसायीले सँगसँगै निर्माण गरेमा दुई वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालन हुन सक्ने प्रमुख पुनले बताउनुभयो ।

तर सम्पूर्ण पूर्वाधार तयार गरेर उद्योग सञ्चालन गर्नुपर्ने अवस्थामा भने पाँच वर्षपछि मात्रै उद्योग सञ्चालन हुने अवस्था रहेको प्रमुख पुनको भनाई 
छ । औद्योगिक क्षेत्रका लागि सरकारले  ५ सय २५ बिघा क्षेत्रफल जगा दिने निर्णय गरेकोमा बाक्लो बस्ती भएका कारण अहिले ३ सय ३८ बिघामा  निर्माण कार्य सुरु भएको हो ।

३ सय ३८ बिघा भित्र झण्डै दुईसय घरधुरीको बसोबास भएका कारण कतिपय स्थापनमा तारबारमा समेत अवरोध भएको छ ।  २०७२ साल चैत १ गते सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया