सौरभ उप्रेतीको परिवार भन्छ : हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन ?

 असोज १, २०७५ सोमबार १७:१४:५४ | उज्यालो सहकर्मी

काठमाडौं – मोरङको विराटनगरमा रहेको  नोबेल मेडिकल कलेजमा  एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दावी गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै परिवारले सडक आन्दोलनको घोषणा समेत गरेको छ ।

मृतकका बुवा अर्जुन उप्रेतीले प्रेस विज्ञप्ति वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको सहारा एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘मेरो छोरा अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखि नै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिँदैनन् भन्ने लाग्दथ्यो, हुन पनि त्यस्तै गरे, राजा वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्डलाई एकादेशको कहानी बनाउने देशमा हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन ? दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन्, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानुनको भागिदार हुनेछ ।’ 

त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राति हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घटनाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको बताउनुभयो । उहाँले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घटनालाई गम्भीर भएर लिएको पाइँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिँड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’

सरकार अपराधीलाई संरक्षण गर्दैछ भनेर उहाँको आरोप छ । उहाँले थप्नुभयो, ‘किटानी लिनसमेत मानेको छैन्, घट्नाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हामी छौँ । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ, सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी प्रशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’

उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा मलुकभर बलात्कार हत्याका श्रृङ्खलाबद्ध घटनाहरु बढिरहेका छन्, निर्मलाका हत्यारालाई कारबाही गर्न भन्दै सडकमा ओर्लेका अर्को एकजना मानिसले ज्यान गुमाउनुपर्यो, त्यस्तै हामीले पनि सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खानुपर्छ भने तयार छौँ । गृहमन्त्री रामबहादुर थापाले आफ्ना सुरक्षा अंगहरुलाई आदेश दिए हुन्छ, हामी छाती थाप्न तयार छौँ, कुनै व्यक्तिको रहस्यमय तरिकाले हत्या गरिन्छ, अनि अर्को व्यक्तिले मृतकको न्यायको लागि गोली खानुपर्छ, सँगै बसेर पढेका र शंका लागेका कुवर थापा र शत्रुधन यादवलाई सोधपुछ गर्दा हामीलाई किन सोध्ने ? भन्ने ठाउँमा भन्छौँ भनेर जवाफ दिन्छन् ।’

मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘मेरो भाइको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होइन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया