प्रधानमन्त्री ओलीले भने : म पनि निर्मलाको अभिभावक हूँ...

 असोज १, २०७५ सोमबार १७:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न कसैलाई छुटकारा नहुने बताउनुभएको छ ।

ट्वीटमार्फत प्रधानमन्त्री ओलीले आफू पनि निर्मलाको अभिभावक भएकाले निर्मलाको हत्यारालाई कसैगरी छुट नहुने बताउनुभएको हो । निर्मला पन्तको हत्याकाण्डमा प्रधानमन्त्री ओलीले प्रारम्भिक छानबिनमा त्रुटि भएको बताउनुभएको छ ।

 

उहाँले प्रारम्भिक छानबिनमा त्रुटि भएका कारण निर्मला पन्तको हत्यारा समयमै पत्ता लगाउन नसकिएको बताउनुभएको छ । सोमबार निर्मलाका आमाबुबासँगको भेटमा पनि प्रधानमन्त्री ओलीले हत्यारा पत्ता लगाएर कडा कारबाही गर्ने आश्वासन दिनुभएको थियो । 

सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै चौतर्फि सरकारको आलोचना भैरहेको छ । देशभर पन्तको परिवारलाई न्याय दिनुपर्ने माग गर्दै प्रद्धर्शन भैरहेका छन् ।

झण्डै दुई महिना पूरा हुन लाग्दा पनि निर्मला पन्तको हत्यारालाई सरकारले सार्वजनिक गर्न सकेको छैन । निर्मला पन्तको हत्याकाण्डलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको क्षमता कमजोर भएको र सरकार पनि कमजोर भएको टिप्पणी गरेको छ ।

नेविसंघले पनि गृहमन्त्री थापा काम गर्न कमजोर भएको भन्दै राजीनामा माग गरेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया