भारतले दिने नयाँ हवाई रुटको प्राविधिक काम अन्तिम चरणमा, टोली भारत जाँदै

 असोज १, २०७५ सोमबार १८:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतले दिने नयाँ हवाई रुटको प्राविधिक विषयमा पनि चाँडै टुंगो लाग्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आउँदो महिनासम्म भारतले दिने नयाँ हवाई रुटमा अन्तिम सम्झौता हुने गरी काम भैरहेको बताएको छ । यसको लागि केही दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरणको एक टोली केही दिनमा भारत जान लागेको प्राधिकरणले जनाएको छ ।

गएको असारमा भारतले नेपाललाई पूर्वमा विराटनगर र जनकपुर तथा पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रस्थान बिन्दु दिन सहमति जनाएको थियो । तर महेन्द्रनगर बिन्दुबाट २४ हजार फिटभन्दा तल रहेर मात्रै जहाज नेपाल छिर्न पाउने सहमति भएको थियो । यस्तै नेपालगञ्ज बिन्दुको बारेमा पनि भारतले थप अध्ययन गरेर मात्रै भन्न सकिने जनाएको थियो ।

विशेष गरेर विराटनगर र जनकपुरमाथिको आकासबाट पनि जहाज नेपाल प्रवेशको लागि प्राविधिक विषयमा पनि कुरा अन्तिम चरणमा पुगेको छ । गएको जुलाईमा पनि भारतीय टोली नेपाल आएर प्राविधिक विषयमा छलफल गरेको थियो । अब नेपाली टोली प्राविधिक प्रतिवेदनलाई अन्तिम रुप दिने गरी भारत जान लागेको हो ।

‘हामी लगभग अन्तिम चरणमा पुगेका छौं, भारतीय टोलीले नेपालमा आएर छलफल पनि गरिसकेको छ, हामी पहिले पनि भारत गैसकेका छौं, अब हामीले छिटै भारतसँग कुरा टुंग्याउँछौं, अनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओसँग पनि सहमति गछौं ।’ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो ।

नयाँ रुट पाएपछि फाइदा के त ?

नेपाल आउने ठूला जहाज अहिले जम्मा ३ वटा बिन्दुबाट नेपाल छिर्छन । चीनबाट नेपाल आउजाउ गर्ने जहाजले तुम्लिङटार रुटको प्रयोग गर्छन । यस्तै भुटानबाट आउजाउ गर्ने जहाजले मेची रुटको प्रयोग गर्छन । युरोपका देश, साउदी कतार लगायतका गल्फ देश अनि भारतबाट आउने जहाज लागि नेपालको सिमरा बिन्दुबाट नेपाल छिर्छन् ।

जतिसुकै आपत परे पनि चीन र भुटानबाहेकका देशबाट नेपाल आउने विमानले सिमरामाथिको आकाश हुँदै नेपाल छिर्नुको विकल्प छैन । अहिले धेरै विमान नेपालको महेन्द्रनगरमाथिको आकाशमा आइपुग्छन्, तर त्यहाँबाट नेपाल छिर्ने बिन्दु भारतले नदिएकाले भारतीय आकास हुँदै सिमरा पुगेर त्यहाँबाट मात्रै नेपाल छिर्न पाउँछन ।  तर अब भारतले पूर्वमा विराटनगर र जनकपुर पनि जहाज नेपाल आउन पाउने रुट दिन सहमति जनाएको छ ।

नयाँ रुट थपिनेबित्तिकै नेपालको हवाई ट्राफिकलाई भारते पठाउने समस्या अन्त्य हुनेछ । अहिले त्रिभुवन विमानस्थलमा कुनै समस्या देखिएमा भारततर्फ आएका धेरै  जहाज भारतकै आकाशमा होल्ड गराउनुपर्छ । किनकी सिमरामाथिको आकासमा धेरै जहाज होल्ड गराउन मिल्दैन ।

तर नयाँ रुट लागू भएपछि विराटनगर र जनकपुरमाथिको आकाशमा जहाज होल्ड गर्न सकिनेछ । काठमाडौंमा अवतरण गर्न नसकेका विमान भारत नै फर्केर उतैको आकासमा होल्ड हुने समस्या हट्नेछ ।

‘यी दुई रुट कार्यान्वयनमा आएपछि काठमाडौंको एअर ट्राफिक कन्ट्रोल गर्न सहज हुने देखिन्छ, अनि सुरक्षामा पनि थप सुधार आउने मेरो अनुमान छ’, पूर्व पाइलट केबी लिम्बूले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अहिले सिमराको रोमियो प्वाइन्टबाट मात्रै छिर्दा काठमाडौं एअरपोर्टलाई पनि व्यवस्थापन गर्न गाह्रो छ, तर कमसेकम विराटनगरबाट पनि छिर्न पाउने भएपछि केही जहाज उतै होल्ड गर्न पनि सकिने भयो नि त ।’

यसबाहेक नेपाललाई केही आर्थिक फाइदा पनि हुनेछ । भारतीय आकाश प्रयोग गरेर आउँदा र नेपालबाट डाइभर्ट भएका जहाज भारतीय आकाशमा धेरैबेर जहाज होल्ड गराउँदा हवाई कम्पनीले शुल्क भारतलाई नै तिरिरहेका छन् । तर अब विराटनगर र जनकपुरको बिन्दु खुलेपछि जहाजलाई विराटनगर र जनकपुरमाथि होल्ड गराउन सकिनेछ, ती जहाजबाट नेपालले हवाई शुल्क लिन पाउनेछ ।

पूर्व पाइलट केबी लिम्बूका अनुसार यदि महेन्द्रनगरबाट जतिसुकै जहाज पनि छिर्न दिने हो भने विमानको तेल खपत कम हुनेछ । महेन्द्रनगर नजिकैको आकाशबाट भारतीय आकाश हुँदै सिमरामाथि पुग्न भन्दा महेन्द्रगरबाट नेपाली आकाश हुँदै सिमरा पुग्न झण्डै १ सय किलोमिटरको फरक पर्छ ।

‘हामीले दिनको एउटा जहाजको हिसाब गर्ने होइन, हरेक दिन आउजाउ गर्ने जहाजको तेल जोड्दा त्यो धेरै हुन आउँछ, त्यसैले अहिले महेन्द्रनगरमा २४ हजार फीटभन्दा तलको शर्त राखिएन भने हाम्रा जहाजको तेल खपत कम हुने देखिन्छ’, पूर्व पाइलट लिम्बूले भन्नुभयो । जहाजमा तेल कम लागेपछि भाडा पनि घट्न सक्ने उहाँको भनाई छ ।

सिमरा नआई त सुखै छैन

भारतले विराटनगर, जनकपुर, नेपालगञ्ज, महेन्द्रनगर जताबाट रुट दिए पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विमानलाई सिमरामाथि नआई भने हुन्न । काठमाडौंको विमानस्थलमा आउनको लागि सिमरामाथि रोमियो र गल्फको विन्दुमा प्रवेश गरेर मात्र सहज अवतरणको सम्भवाना रहन्छ ।

अहिले कोलकत्ता, सिंगापुर, मलेसिया, थाइल्यान्ड लगायतका गन्तव्यबाट आउने विमानले सिमरामाथि नै २ वटा बिन्दु बनाएर नेपाल प्रवेश गर्ने गरेका छन् । त्यसैले भारतले अहिले दिने भनेका रुट काठमाडौंको विमानस्थलको लागि भन्दा पनि बन्दै गरेका अरु विमानस्थलको लागि उपयुक्त हुने देखिन्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया