आयल निगम भन्छ : उपभोक्ता आत्तिन पर्दैन, तेल जति पनि छ, असहयोग गर्नेलाई छाड्दैनौँ

 जेठ २१, २०७५ सोमबार १८:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलिय पदार्थको अभाव हुन्छ कि भन्ने डरले लामो लाइनमा नबस्न उपभोक्तालाई आग्रह गरेको छ । 

ट्यांकर चालकको आन्दोलनका कारण केही परिमाणमा तलमाथि भए पनि अभावै हुने अवस्था नरहेको भन्दै आत्तिएर लाइनमा नबस्न निगमले आग्रह गरेको छ । ‘उपभोक्ताहरु हल्लै हल्लामा लाइनमा बस्नुभएको छ, त्यो जरुरी छैन, हरेक पम्पले तेल लगेका छन्, त्यसैले लाइन बढाएर अरु उपभोक्तालाई पनि डर देखाउने काम नगर्न अनुरोध गर्दछु’ निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘देशमा स्थायी सरकार छ, ठूला समस्या आउँदैन भन्नेमा हामी ढुक्क छौँ, उपभोक्ताले पनि त्यै बुझिदिनुप¥यो ।’

सोमबार मात्रै निगमको थानकोट डिपोबाट ११ लाख लिटर पेट्रोल र १४ लाख लिटर डिजेल बजार पठाइएको उहाँले बताउनुभयो । यो परिणाम सामान्य अवस्थाको भन्दा दोब्बरले धेरै हो । 

‘असहयोग गर्नेलाई कुनै हालतमा छाड्दैनौं’

नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईले कुनै पनि माग राखेर इन्धन आपूर्ति रोक्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी पनि दिनुभएको छ । ‘हामीले उनीहरुका जायज माग पूरा गर्ने हो, तर जथाभावी माग राखेर नागरिकलाई अभावमा राख्न खोज्ने र आतंक फैलाउन खोज्नेलाई निगमले छाड्नेवाला छैन’ उहाँले भन्नुभयो, ‘देशमा स्थायी सरकार छ, सुशासन सरकारको पहिलो प्राथमिकता हो भनेर बारम्बार हामीलाई पनि निर्देशन आएको छ, नियम विपरीत गर्नेहरुलाई बेलैमा सोच्न पनि म आग्रह गर्दछु ।’
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया