कञ्चनपुरमा हात्ती आतंक, ६ बिघा जमिनमा लगाइएको धानबाली नष्ट

 असोज २, २०७५ मंगलबार ९:२७:२३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – वेदकोट र शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीले आतंक मच्चाउन थालेका छन् । प्रायःजसो अन्नबाली भित्र्याउने बेलामा आतंक मच्चाउँदै आएका हात्तीको बथानले यसपटक भने धानबाली नपाक्दै नोक्सान गर्न थालेका छन् । 

भारतीय दुधुवा नेशनल पार्कबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले किसानको अन्नबाली नोक्सान गर्न थालेका छन् । हात्तीले खेतबारीमा लगाएको धान, उखु, तरकारीलगायतका बाली नोक्सान गरेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । 

हात्तीको बथानले सोमबार राति शुक्लाफाँटा नगरपालिका ५ मा डम्मर साउद, कृष्ण रावल, अदप साउद, भिमबहादुर साउद, जीवन साउद, रतन मल्ललगायतका किसानको झण्डै ६ बिघा जमिनमा लगाइएको धानबाली नष्ट गरेको शुक्लाफाँटा नगरपालिका २ का वडा अध्यक्ष कमलराज गिरीले जानकारी दिनुभयो । 
हात्तीको बथानले शुक्लाफाँटा नगरपालिकाको २, ३, ४, ५ र १२ तथा वेदकोट नगरपालिकाको १, ९ र १० नम्बर वडामा पनि आतंक मच्चाउदै आएको छ । 

हात्ती आतंकले गरिब निमुखा जनता मारमा परेको भन्दै त्यसको दिगो व्यवस्थापनका लागि सरकारले छिट्टै कदम चाल्नुपर्ने शुक्लाफाँटा नगरपालिकाका नगरप्रखुम दिलबहादुर ऐरले बताउनुभयो । 

हात्ती आतंक बर्सेनि हुने गरे पनि त्यसको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा धनजनको क्षति हुने गरेको छ । स्थानीयले गएको वर्षको राहत तथा क्षतिपूर्तिसमेत नपाएको गुनासो गरेका छन् । 

वेदकोट नगरपालिकाका उप–प्रमुख शुशिला सिंहले आफ्नो नगरक्षेत्रमा हुने हात्ती आतंक नियन्त्रणका लागि तारजाली तथा सोलार लगाउने काम भइरहेको बताउनुभयो । उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा हात्ती आतंक कम गर्नका लागि नगरपालिकाले विभिन्न दातृ संस्थाहरुसँग पनि पहलको काम गरिरहेको जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया