संविधान दिवसमा सबै नेपालीले उत्सव मनाउने वातावरण हुनुपर्छ – महतो

 असोज २, २०७५ मंगलबार १२:३२:१७ | गोविन्द शर्मा

बाँके – राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान दिवसमा सम्पूर्ण नेपालीले उत्सव मनाउने वातावरण हुनुपर्ने बताउनुभएको छ । 

मंगलबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा महतोले संविधान दिवसमा सबै नेपाली जनता सहभागी भएर उत्सवको रुपमा मनाउनका लागि संशोधन अनिवार्य भएको बताउनुभयो । 

महतोले संविधान अपुरो र अधुरो भएका कारण राजपाले विरोधको रुपमा मनाउन लागेको बताउनुभयो । उहाँले संविधानमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान सरकार इतिहासकै सबैभन्दा शक्तिशाली सरकार भएको बताउँदै सबै समस्या समाधान हुने आशा यथावत रहेको बताउनुभयो । उहाँले शक्तिशाली सरकार असफल हुनु भनेको सम्पूर्ण नेपाली जनताका लागि पनि दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो ।  

उहाँले सरकारले जनतामा देखाएको आर्थिक विकास र समृद्धिको सपना केवल नारामा मात्रै सीमित भएको बताउँदै सरकारले आप्mनो दायित्व र जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गर्नुभयो ।

संविधान संशोधन, निर्वाचित सांसद रेशम चौधरीको सपथग्रहण र मुद्धा फिर्ता लगायतका मागहरु पूरा गर्नुपर्नेमा जोड दिदै उहाँले अहिलेको अवस्थामा संविधानलाई उत्सवको रुपमा मनाउन नसकिने दावी गर्नुभयो । 

संविधान संशोधन  लगायतका आफुहरुका माग पुरा नभएकाले सरकारलाई दिएको समर्थनका विषयमा अब धेरै समय पर्खन नसकिने उहाँको भनाई छ । 

साधु सन्त बन्न  राजपा गठन नभएको बताउँदै उहाँले आफुहरुका माग पुरा भएमा भोली नै सरकारमा सहभागी हुन तयार भएको बताउनुभयो । 

राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधान संशोधन सङ्घीय संसदले मात्रै गर्ने भएकाले  आफूहरुले केन्द्र सरकारलाई दबाब दिँदै आएको बताउनुभयो ।

उहाँले राजपा झगडा बिसाउन गठन गरिएको बताउँदै अब नेतृत्वका लागि विवाद नहुने दावी गर्नुभयो । महतोले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया