अख्तियारको प्रमुखमा सिफारिस घिमिरेको संसदीय सुनुवाई बिहीबार हुने

 असोज २, २०७५ मंगलबार १४:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई आउँदो बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार दिउँसो १ बजे गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहीबार गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को गएको भदौं २० गते बसेको बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०७१ सालमा आयुक्त नियुक्त हुनुभएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया