भारतीय प्रधानमन्त्री मोदीको राजकीय भ्रमण, दुवै प्रधानमन्त्री मिलेर अरुण तेस्रोको शिलान्यास गर्ने

 बैशाख २१, २०७५ शुक्रबार १९:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ – प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते आउनुहुने भएको छ । 

प्रधानमन्त्री मोदीलाई त्यसैदिन स्थानीय टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसैदिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नुहुनेछ । 

साथै दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नुहुनेछ । भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नुहुनेछ । 

नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुनेछ । साथै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उहाँको नागरिक अभिनन्दन गर्नेछन् । 

प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । सन् २०१४ मा उहाँ दुई पटक नेपालको भ्रमणमा आउनुभएको थियो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया