श्रीमतीको यादले सताएपछि सैनिकले विमानै चोरेर उडाएकाे त्याे दिन !

 जेठ २१, २०७५ सोमबार २०:३९:५५ | एजेन्सी


सन् १९६९ मा शीत युद्ध चरम अवस्थामा थियो । २३ वर्षीय मेकानिक पल आडम्स मेयर यूनाइटेड स्टेट एयर फाेर्स अर्थात यूएसएफको इंग्ल्याण्डमा रहेको बेसमा खटिएका थिए । 

पलले एकदिन हरक्यूलिस विमान चोरे र आफ्नो देशका लागि उडे । उडान भरेको केही घण्टापछि विमान अचानक राडारबाट सम्पर्कविहीन भयो । 

मे २२, १९६९ को रात । पलको जिन्दगीको एउटा सकसपूर्ण रात । उनलाई श्रीमती र छोराछारीको सम्झनाले निकै सतायो । त्यसैले उनले केही दिनअघि अमेरिकाकै भर्जिनियाका लागि सरुवा पनि मागेका थिए । तर उनको मागलाई कसैले सुनेन । 

मानसिक रुपमा विक्षिप्त ती युवा भियतानमी युद्धमा लडेका एक साथीको पार्टीमा गए । उनले त्यहाँ धेरै नै रक्सी पिए । उनले त्यहाँ आफ्नो हरकत देखाउन थाले ।
पलका साथीहरुले उनलाई रक्सी धेरै नै लागेको बताउँदै सुत्न आग्रह गरे । तर उनी झ्यालबाट निस्केर भागे । प्रहरीले उनलाई ए ११ सडकमा फेला पार्यो र गिरफ्तार गर्यो । प्रहरीले पललाई उनकै ब्यारेकमा पुर्याइदियो । प्रहरीले पनि उनलाई सुत्न आग्रह गर्यो । पलको मन कहाँ मान्थ्यो र  ? उनको मष्तिस्कमा हरु नै केही दौडिरहेको थियो । 

‘हनी, म घर आउँदैछु है’

पलले एक क्याप्टेनको कोठामा पसे । क्याप्टेनको ट्रकको चाबी चोरे । ‘क्याप्टेन एपस्टन’ को नाम लिँदै पलले एयरक्राफ्ट कोर्डिनेटरलाई फोन गरे । उनले हरक्युलिस सी–१३० विमानका लागि ट्रान्सपोर्ट शिप चाहिएको बताए । उनले कोर्डिनेटरसँग अमेरिका उड्नका लागि इन्धन पनि चाहिएको पनि बताए । क्रुका सदस्यले पनि आफ्नो वरिष्ठ अधिकारीको आदेश सम्झेर पालना गरे । नक्कली क्याप्टेन भएको उनीहरुले सुइँकोसमेत पाएनन् । 

मे २३, बिहान ५ बजेर १० मिनेटमा पलले ६० टनको जहाज उडाए । उनले जहाज उडाउने तालिम कहिल्यै लिएका थिएनन् । 

भर्जिनियामा मध्यरातको समय थियो । मेरी एन ‘जेन’ को फोनको घण्टी बज्यो । मेरीले फोन उठाइन् । उताबाट पलको उत्साहपूर्ण आवाज सुनियो, ‘हाई हनी । अनुमान गर त । म कहाँ छु ? म घर आउँदैछु । बाटोमा छु ।’

जेन निद्रामै थिइन् । उनले पलसँग सोधिन् कि उनको टिम कतिबेला आइपुग्छ । पलले जवाफ फर्काए, ‘म आफै विमान उडाएर एक्लै आउँदैछु घर ।’
यो सुनेर जेन छाँगाबाट खसेझैँ भइन्, ‘तिम्ले ? तिमी विमान उडाइरहेका छौ ? हे भगवान !’

त्यस दिनको ५० वर्षपछि मेरी एन जेन गुडसन(अहिले उनी यसै नामले चिनिन्छिन्) पलसँग त्यसदिन भएको एक घण्टा लामो कुराकानी आफ्नो दिमागमा ताजै भएको बताउँछिन् । 

मेरीले जब पल बिना इजाजत बेसबाट बाहिरिएको  र हरक्यूलिस विमान चोरेको थाहा पाइन् उनले पललाई फिर्ता जान आग्रह गरिन् । उनले पललाई यदि फिर्ता नगए सेनाले कडा कारबाही गर्ने चेतावनीसमेत दिइन् । 

पलले बोलेको अन्तिम शब्द त मेरीलाई सम्झना छैन तर के भनेका थिए भने सम्झना छ । ‘बेबी, म तिमीलाई पाँच मिनेटपछि फोन गर्छु । अहिले यहाँ केही समस्या आइलाग्यो ।’

त्यसपछि फोन काटियो । एक घण्टापछि पलको विमान दुर्घटना भयो ।

के उनलाई खसालिएको थियो ?

घटनाको केही दिनपछि ओलडरनी द्वीपको तटमा हरक्यूलिसको विमानको अवशेष पाइएको थियो । यसमा एउटा लाइफबोट पनि थियो । तर मेकानिक पलको शव भने फेला परेन ।

पलकी श्रीमती मेरी भन्छिन्, ‘ एयरफोर्सको तर्फबाट मलाई कहिल्यै भनिएन कि विमान दुर्घटना भयो । मलाई एउटा टेलिग्राम पठाइएको थियो । जहाँ विमान गायब भएको भनिएको थियो । त्यतिबेला मलाई पलले आफू समस्यामा परेको बताएका थिए । मलाई यस्तो पनि लाग्छ कि त्यतिबेला उनलाई सेनाका विमानले घेरेको थियो र उनलाई खसालियो । तर म यकिनका साथ यही भयो भन्न सक्दिन किनकि मलाई पूरा सत्य भनिएकै छैन ।’

युनाइटेड एयस फोर्सको आधिकारिक प्रतिवेदनका अनुसार पल मेयरले विमान उडाएपछि उनको उद्धारका लागि लेकनहीथ बेसबाट एउटा एफ–१०० फाइटर प्लेनसहित दुइटा विमान पठाइएको थियो । दुइटै विमानले ‘पलसँग कुनै सम्पर्क स्थापित गर्न सकेनन् ।’

तर मेरी भन्छिन् कि जब उनी पलसँग कुरा गरिरहेकी थिइन्, २० मिनेटपछि फोनमा अर्को व्यक्तिको आवाज सुनिएको थियो । त्यो मान्छेले पललाई कुरा जारी राख्न भनेका थिए ताकि उनको लोकेसन पत्ता लगाउन सकियोस् ।

तत्कालीन ब्रिटिस डेप्युटी अधिकारीले सेनासँग जवाफ मागेका थिए कि यत्रो ठूलो विमानलाई सही समयमा ब्रिटिस तथा अमेरिकी राडारले किन सम्पर्क गर्न सकेन ।
यसको जवाफमा रक्षा मन्त्रालयका अधिकारी जोन मोरिसले पलले विमान उडाएको केही मिनेटमै अमेरिकाको आरएएफको एयर डिफेन्स अपरेसन सेन्टरलाई जानकारी दिएको जानकारी दिए । 

जोन मोरिसले बेलायती संसदमा ब्रिटिस एयर ट्राफिक कन्ट्रोलरले आफ्नो राडारको माध्यमबाट तीन मिनेटमै विमानलाई डिटेक्ट गरेको बताएका थिए । मेरीलाई पलले राडारले समात्छ भनेर आफूले कम उचाइमा विमान उडाइरहेको बताएका थिए । 

यो घटना घटेका बेला हेनरी केवल सात वर्षका थिए । उनलाई आज पनि त्यो खबरले हल्लाउँछ कि सेनाका एक अधिकारीले आफ्ना सौतेनी बुवा हराएको खबर लिएर घर आएका थिए । त्यस समय उनकी आमा मेरी र पलको विवाह भएको मात्र ५५ दिन भएको थियो । 

हेनरी त्यो दिन सम्झँदै भन्छन्, ‘मलाई याद छ कि त्यो खबर सुनेर मेरी आमा गुडियाझै भूइँमा छटपटिनुभएको थियो ।’ उनी भन्छन्, ‘पल एक असल व्यक्ति थिए । उनले हाम्रो परिवारलाई स्थिरता प्रदान गरे । उनी आफ्नो उमेरभन्दा धेरै नै परिपक्व थिए । उनीसँग हामीले खास पल बिताएका छौँ ।’

तर अमेरिकी सरकारको तर्फबाट आएको प्रतिवेदन अनुसार पल अलग्गै प्रकृतिका थिए । प्रतिवेदनका अनुसार उनी भावनात्मक रुपमा निकै कमजोर भैसकेका थिए । उनी निकै नै आक्रोशित थिए किनकि उनको प्रमोसन भएको थिएन ।

हेनरीले केही समयअघि अमेरिकी अधिकारीसँग सम्पर्क गर्दै घटनाका बारेमा जानकारी हासिल गर्ने प्रयास गरे । उनका अनुसार यूएसएएफका वकिललाई दिएको प्रमाण हराएको छ । उनले सूचनाको हक अन्तर्गत जानकारी मागेका छन् । तर उनको यो आग्रहलाई सीआईएमा पठाइएको छ ।

सीआईएले यसलाई नजरअन्दाज गरेर बसेको छ । मेरीका अनुसार पलले हरक्युलिस विमान उडाउने सीप कहिल्यै सिकेका थिएनन् । यदि उनले त्यो विमान कुनै गाउँ, विद्यालय तथा अस्पतालमाथि खसालेको भए कत्रो भयानक दुर्घटना हुने थियो भनेर मेरी प्रश्न गर्छिन् । उनले यूएसएएफले नै क्षति कम गर्नका लागि पनि विमान खसालेको हुन सक्ने बताउँछिन् । मेरीका छोराले जे भएको थियो आफूहरुलाई साँचो बताउन अधिकारीहरुलाई आग्रह गरेका छन् । 

पल विमान उडाउने पाइलट नभए पनि मेकानिक भएका कारण विमानका बारेमा धेरै कुरा जानेका थिए । 

विमान दुर्घटनाका पछाडि थुप्रै तर्कहरु दिइएको छ । कसैले निदमा तथा नशामा विमान उडाएको हुन सक्ने पनि बताएका छन् । तर हेनरी भन्छन्, ‘जुन व्यक्तिले ९० मिनेटसम्म विमान उडाएको छ त्यसलाई कसरी मुल्यांकन गर्ने ? उनले एक पाइलटले झैँ नै गरी विमान उडाएका थिए ।’

यो विमान दुर्घटनाका बारेमा इन्टरनेटमा थुप्रै अफवाह फैलाइका छन् । कतिपयले विमान सीआईएको भएको  र त्यसमा थुप्रै गोप्य दस्तावेज भएको समेत दावी गरेका छन् । त्यसैले विमान खसालिएको तर्क दिने पनि धेरै छन् । 

कतिपयले दुर्घटनामा पल बाँचेको र वर्षौँसम्म पूर्वी युरोपमा बसेको बताउँछन् । त्यो दिन के भएको थियो पलकी श्रीमती मेरीका लागि आज पनि रहस्यको विषय बनेको छ । मेरी आज पनि घटनाको सत्यतथ्य जान्नका लागि भौँतारिरहेकी छिन् ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया