कतारमा मृत्युदण्ड पाएका अनिललाई निर्दोष सावित गर्न कानुनी प्रतिरक्षा सुरु

 जेठ २२, २०७५ मंगलबार ६:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कतारी नागरिकको हत्या गरेको अभियोगमा त्यहाँको अदालतद्वारा मृत्युदण्डको फैसला सुनाइएका महोत्तरीको औरही १ का अनिल चौधरीलाई निर्दोष सावित गराउन कानुनी प्रतिरक्षा सुरु भएको छ  । कतारमा रहेको नेपाली दुतावासले अनिल निर्दोष रहेको जिकिर गर्दै त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

कतारको अपराधसम्बन्धी तल्लो अदालतले अनिलले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नायुमीको हत्या गरेको पुष्टि गर्दै मृत्युदण्डको फैसला सुनाएपछि त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरिएको दुतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयले अनिलको पक्षबाट मुद्दा लड्न आवश्यक पर्ने रकम तत्काल कतार पठाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयलाई आग्रह गरेको छ । मुद्दा लड्नका लागि ३० हजार कतारी रियाल झण्डै ९ लाख नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

अनिललाई हत्या अभियोगमा गएको अप्रिल महिनाको पहिलो हप्ता पक्राउ गरी त्यहाँको केन्द्रीय कारागारमा राखिएको छ । चौधरी कतारको एक कार कम्पनीमा साधारण मजदुरका रुपमा काम गरिरहेका बेला कतारी नागरिकको हत्या गरेको अभियोग लागेको हो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया