घोडामा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’

 असोज ३, २०७५ बुधबार १२:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । 

उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै विशेष कारणबस बन्द भएको थियो ।  पछि मेरी बास्सै फेरि सुरु भयो तर मैयाँ भने मेरी बास्सैमा भइनन् । माग्ने बुढा नभएका कारण उनी मेरी बास्सैमा थिइनन् । 
मेरी बास्सैमा काम नगर्दा उनले अर्को चर्चित सिरियल जिरे खुर्सानीमा दाल चिनीको भूमिका निर्वाह गरेकी थिइन् । 

तर दर्शकले उनलाई यो भूमिकामा त्यति रुचाएनन् । कारण थियो उनको आधुनिक भूमिका । जिरे खुर्सानीमा दाल चिनी यस्तो पात्र थिइन् जसले सुख सयलको जिन्दगी चाहन्छे र आफ्नो श्रीमान्लाई दलाउन खोज्छे । उनको यो भूमिका दर्शकले रुचाएनन् । तर उनको अभिनयको तारिफ हुन भने कहिल्यै पनि छोडेन ।

सुनिताको करिअरमा पनि मैयाँलाई जति माया अरु क्यारेक्टरलाई मिलेको छैन । यहि कारण पनि उनी फेरि त्यहि पात्रको रुपमा मेरी बास्सैमा कमब्याक गरेकी हुन् । 

मेरी बास्सैमा फेरि काम गर्न सुरु गरेकी सुनिता जिरे खुर्सानी फेरि सुरु भयो भने यता पनि काम गर्ने मुडमा छिन् । दर्शकले चाहे र खोजेसम्म आफूले अभिनय गरिरहने उनी बताउँछिन् ।  

यो साताको मेरी बास्सैमा उनको प्रवेश विशेष बनाइएको छ । उनी घोडामा चढेर मेरी बास्सैमा कमब्याक भएकी छिन् । 

–उज्यालो र गफगाफ डटकमको सहकार्य 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया