मुसहरहरुले बिरुवा रोपेर मनाए संविधान दिवस

 असोज ३, २०७५ बुधबार १४:१४:१५ | उज्यालो सहकर्मी

महोत्तरी – महोत्तरीको बर्दिबासका मुसहरहरुले संविधान दिवसको अवसरमा आफ्नो गाउँमा वृक्षारोपण गरेका छन् । 

मधेसवादी केही दलहरुले तेस्रो संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै गर्दा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा १६ महिना अघि निर्माण भएको एकीकृत नमुना मुसहर बस्तीका स्थानीयहरुले एक सय वटा बिरुवा रोपेका हुन् ।

चुरे क्षेत्रको संरक्षणमा काम गर्दै आएका बर्दिबास स्थित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले उपलब्ध गराएको बोट विरुवाहरु मुसहर बस्तीका नागरिकले आफ्ना घर अगाडिको फूलबारीमा रोपेका बस्तीका युवा मञ्जय मुसहरले जनाउनुभयो ।

बस्तीमा वृक्षारोपण गर्न गाउँलेहरु हिजोदेखि नै खाल्टो खन्न जुटेका थिए । आज बिहानैदेखि चलेको वृक्षारोपण कार्यक्रम पाँच घण्टासम्म चलेको थियो । 

तराई मधेसको पर्यटकीय स्थलको रुपमा विकास भएको एकीकृत नमुना मुसहर बस्तीका सडकको दुवै तिर वृक्षारोपण गरिएको हो । बस्तीका बच्चाहरुको विशेष सक्रियता रहेको बिरुवा रोप्नमा कसैले खाल्टो खनेका थिए भने कसैले फूलमा पानी हालेका थिए ।

बिरुवा रोप्ने कार्यक्रममा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख विमल भट्टराई, दलित अधिकारकर्मी सन्त परियार, पूर्व शिक्षक बासुदेव महतो, समाजसेवी शंकर फुयाँललगायतको सहभागिता रहेको थियो ।

तस्बिर : राजकरण महतो
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया