उपराष्ट्रपति  पुन छेन्दुमा

 असोज ३, २०७५ बुधबार १६:११:४९ | उज्यालो सहकर्मी

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु आइपुग्नुभएको छ । उहाँ सिए ४३८ नं. को एयर चाइनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु आइपुग्नुभएको हो । 

उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति छेन्दुमा बिहीबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन आइपुग्नुभएको हो ।

उहाँले बिहीबार बिहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । 

आजै उच्चस्तरीय भेट गर्दै

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्नुहुनेछ । बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ । 

उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्ववर्ती प्रमुख सेनानी अरुण कुमार केसी हुनुहुन्छ । 

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत इन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया