गायिका सितु खरेलको सातौं गीतिसंग्रह ‘म जस्तै तिमी पनि’ लोकार्पित

 असोज ३, २०७५ बुधबार १९:४१:४९ | उज्यालो सहकर्मी

काठमाडाैं - गायिका सितु खरेलको सातौं गीतिसंग्रह म जस्तै तिमी पनि को बुधबार लोकार्पण गरिएको छ ।

लामो समयदेखि बेलायतको लण्डन बसेर सांगीतिक यात्रा अगाडि बढाइरहेकी खरेलको सातौं गीतिसंग्रह काठमाडौंमा वरिष्ठ सचारकर्मी सुमन खरेलले विमोचन गर्नु भएको हो ।

अग्रज कलाकार तथा संगीतकर्मीको उपस्थितिमा सार्वजनिक गरिएको गीतिसंग्रहमा संग्रहित सबै गीत बेलायतका लागि नेपाली राजदूत डाक्टर दुवसु क्षेत्रीले लेख्नु भएको हो । संग्रहमा तिम्रो त्यो वचन, केही गीत छन्, जिन्दगीलाई धेरै, कहिलो आगो जस्तो, दुख्छ मेरो मनपनि, म जस्तै तिमीपनि गरी ६ वटा गीत समेटिएका छन् ।

यी गीतमा सचिन सिंह, प्रभुराज ढकाल, कर्ण दास, हरि लम्साल, न्ह्यू बज्राचार्य र चण्डीप्रसाद काफ्लेको संगीत सुन्न सकिन्छ । यो गीतिसंग्रहको बजार व्यवस्थापन विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको छ । 

कार्यक्रममा गायिका खरेलले गीतिसंग्रहमा संग्रहित दुइवटा गीत सुनाउनु भएको थियो भने एउटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियाे ।

कार्यक्रममा कवि तथा गीतकार विप्लव प्रतिकले गीतमाथि टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा गायिका खरेलले आफ्नो श्रीमानको सहयोगकै कारण आफू सांगीतिक क्षेत्रमा स्थापित हुन सकेकोले उहाँकै हातबाट गीतिसंग्रह विमोचन गराएको उल्लेख गर्नुभयो ।

उहाँका श्रीमानसमेत रहेका वरिष्ठ संचारकर्मी सुमन खरेलले गीति संग्रहबाट प्राप्त सबै रोयल्टी मानव सेवा आश्रम नामक संस्थामार्फत समाज सेवामा लगाइने घोषणा गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया