‘गोजीमा पैसा अड्कलेर हिँडेका हुन्छौँ, बन्द हड्तालका बेला हामी रोडमै सुत्ने ?’

 असोज ३, २०७५ बुधबार २०:३२:२६ | अर्जुन श्रेष्ठ

धादिङ – यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग गर्दै सवारी चालकहरुले गरेको हडतालको दोस्रो दिन बुधबार पनि धादिङमा सवारी सञ्चालनमा आउन सकेन । सवारी तथा यातयात व्यवस्था ऐन २०४९ को वर्तमान संशोधित अवस्थामा केही व्यवस्थाहरु चालक र परिचालकहरुको हकहितविरुद्ध रहेको भन्दै मंगलबारदेखि उनीहरु हड्तालमा उत्रेका थिए । 

बुधबार बिहानैदेखि गन्तव्य पुग्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेसी आइपुगेका यात्रुहरु अलपत्र परेका छन् । विशेषगरी अधिकांश यात्रुहरु धादिङबेसी हुँदै काठमाडौं, पोखरा, नारायणघाट विरगञ्ज, विराटनगर लगायतका ठाउँहरुमा जाने गर्दछन् । तर बन्दको खबर समेत नपाएको र यात्रामा निस्केका यात्रुहरु समस्या भएको बताउँछन् ।

नीलकण्ठ नगरपालिका –१०, धादिङका प्रशान्त ढ्याउन्या खहरेबाट काठमाडांै जान आएको बताउनुहुन्छ । खहरेबाट ५ सय तिरेर धादिङबेसी आइपुगेको बताउने ढ्याउन्याले बढी भाडा तिरेर आएको तर उल्टै काठमाडौं जान नपाएकोमा गुनासो गर्नुभयो । ‘नेपालमा माग पूरा गर्ने एउटै बाटो आन्दोलन भएकै हो त ? हाम्रो अधिकार चाहिँ खै ? संविधान दिवस मनाउदै गर्दा संविधानमा भएका हक अधिकार तथा दायित्व पूरा भएको छैन । साह्रै लज्जास्पद भयो’, उहाँले बताउनुभयो ।  

त्यस्तै, खनियाँवास गाउँपालिका –६, धादिङका ५५ वर्षीय मेन्चा तामाङ हिजोदेखि काठमाडौं जान आएको बताउनुहुन्छ । तर सवारी साधन सञ्चालनमा नरहेका कारण अलपत्र परेको उहाँको भनाई छ । ‘धादिङबेसी आइपुगेपछि बन्द भन्ने खवर पाएँ । २ दिन भैसक्यो, गाउँ फर्कूँ कि बसुँ भैराछ । सवारी साधन चल्ने नचल्ने पत्तै पाउन सकिनँ, हामी जस्ता यात्रु मारेमा परेका छौँ’, उहाँले बताउनुभयो, ‘गोजीमा पैसा अड्कलेर हिँडेका हुन्छाँै । तर यस्ता बन्द हड्तालले हामी जस्ता यात्रु रोडमा सुत्न नपर्ला भन्न सकिन्नँ ।’ 

हड्ताल गर्ने सवारी चालकहरुले सवारी चलाउने चालकहरुलाई अबीर तथा खादा ओढाउँदै असहमतिको विरोध गरेका थिए । एउटाको मात्र माग नभएका कारण सबैलाई हड्तालमा सहयोग गर्न समेत माग गरेका छन् ।

यात्रुहरुले समस्या भएको बताइरहँदा हड्ताल गर्ने सवारी चालक तथा सहचालकहरु भने आफ्नो माग पूरा नभएसम्म सवारी सञ्चालन नगर्ने संघर्ष समितिका संयोजक नारायणबहादुर रानाले बताउनुभयो । ‘जबसम्म त्यो कानुनको संशोधन हुँदैन तबसम्म निरन्तर हडतालमा उत्रनेछौँ । हामीले गल्ती गरेको खण्डमा सरकारले तोकेको सजाय भोग्न तयार छौ तर न्यायोचित हुनुपर्‍यो’, रानाले बताउनुभयो । 

१२ चालक प्रहरीको नियन्त्रणमा

आफ्ना माग पूरा नभएसम्म सवारी साधन नचलाउने अडान लिएर हड्ताल गर्ने धादिङका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ यातायात मजदुर भलाइ संघका अध्यक्ष प्रकाश सिंखडासहित जिल्लामा विभिन्न ठाउँबाट १२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले बताउनुभयो ।

जिल्लाको सदरमुकाम धादिङबेसीबाट १ जना, धुनिबेसी नगरपालिका ७ जुगें खोलाबाट २ जना र बेनीघाट रोराङ गाउँपालिका ५ विशालटारबाट ९ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । सञ्चालनमा आएका सवारी साधनलाई ढुङ्गा मुडा गर्ने, सिसा फुटाउने, सञ्चालनमा आउन नदिने क्रियाकलाप गरेको अवस्थामा नियन्त्रणमा लिएको उहाँको भनाई छ । 

सवारी चालकहरुले यातायात ठप्प पारेपछि धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्मरबहादुर विक, सशस्त्र प्रहरी बल धादिङका प्रहरी नायव उपरीक्षक दर्शन गिरीलगायतका टोलिले सवारी चालकलाई सवारी साधन चलाउन दबाब दिए पनि बा ३ ख १७९९ नम्बरको एउटा बस मात्रै मलेखुसम्म गएको थियो । 

यसै क्रममा टोलीले अनुगमन समेत गरेको छ । पृथ्वी राजमार्गमा पोखरा, बेसीशहर, गोरखा जस्ता ठाउँबाट फाट्टफुट्ट पृथ्वी राजमार्ग हुँदै सवारी साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताउनुभयो । सवारी सञ्चालन गर्न दिनभर अनुगमन र दबाब दिएको उहाँको भनाई छ । आफ्ना मागको बाहानामा यात्रुलाई सास्ती दिन नहुने उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया