कार्यालय सहयोगीको भरमा छोटी भन्सार, चोरी तस्करी सहज बन्दै

 असोज ४, २०७५ बिहिबार ९:८:१८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको गोर्खे मानेभञ्ज्याङ्गको छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलिरहँदा चोरी तस्करी गर्न सहज बन्दै गएको छ । जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १ गोर्खेको मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा एक जनाले सम्पूर्ण कार्यभार जिम्मा लिनु पर्ने वाध्यता भएकाले अवैध सामान ओसारपसारमा सहज बन्दै गएको  हो ।

नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा यस्ता समस्या बढ्दै गएको पाइएको छ । 

पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलाम अन्तर्गत रहेको छोटी भन्सार कार्यालयमा कर्मचारी अभावका कारण यसको प्रत्यक्ष असर राजश्व संकलनमासमेत परेको छ । आवश्यकता अनुसारको जनशक्ति नहुँदा लक्ष्य अनुसार राजश्व सङ्कलन नभएको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार , अहिले मासिक रु २० देखि २५ हजार मात्रै राजश्व सङ्कलन हुँदै आएको छ ।

कार्यालय सञ्चालनमा चार जना कर्मचारी आवश्यक पर्छ । तर अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत रहेको पाइएको छ । २०६८ साल असोजमा गएको भूकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएकाले कार्यालय अहिले भाडामा सञ्चालन हुँदै आएको छ  । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिए पनि अझैसम्म काम नभएको बताइएको छ  । 

पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेश थपलियाले भन्नुभयो , दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीलाई सम्पूर्ण जिम्मेवारी दिइएको हो ।  उहाँका अनुसार , पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले नौ जना मात्रै कार्यरत रहेका छन् ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया