गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीहरुलाई कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

 असोज ४, २०७५ बिहिबार १३:५५:२७ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले ‘कम खर्चमा बढी प्रतिफल’ आउने गरी निर्माण कार्यलाई तीव्रता दिन पनि निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भयो । नेपाल निर्माण व्यवसायी महासंघको २० औं वार्षिक साधारण सभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले जानीजानी कम गुणस्तरको काम गरे सैह्य नहुनेतर्फ पनि निर्माण व्यवसायीहरुलाई सचेत गराउनु भयो ।

उहाँले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै इमान्दार भएर मुलुकको निर्माण कार्यमा जुटनुपर्नेमा पनि जोड दिनुभयो । निर्माण व्यवसायीहरुले उत्पादन कार्यलाई बढावा दिने गरी पूर्वाधार निर्माणको काममा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले मुलुक आर्थिक विकास, उन्नति र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गर्दै सबै क्षेत्रलाई योजनाबढ ढंगले मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन पनि आह्वान गर्नुभयो ।

उहाँले सबै ढंगले उत्तम रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाको रुपमा विकास गर्ने दायित्व पूरा गर्न सबै पक्ष केन्द्रित हुनुपर्ने आवश्यक्ता पनि औंल्याउन भयो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सार्वजनिक खरिद ऐन, मुलुकी अपराध संहिता (ऐन) लाई व्यवहारिक हुनेगरी संशोधन गर्न सरकारसँग माग गर्नु भयो ।

उहाँले निर्माण व्यवसायीहरुलाई जेल सजाय दिनेसहितको मुलुकी अपराध संहिताबाट व्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै त्यसलाई संशोधन गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा जेष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानान्धरलाई पनि सम्मान गरिएको थियो । ३ दिनसम्म चल्ने साधारण सभाले महासंघको ३ वर्षे कार्यकालका लागि भावी नेतृत्व चयन गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया