बान्ता हुन थालेपछि मिमबहादुरले श्रीमतीलाई भिडियो कल गर्न भनेका थिए

 असोज ४, २०७५ बिहिबार १४:३८:३५ | मोहन पौडेल

काठमाडौं – धादिङको गंगाजमुना गाउँपालिका बसेरीका मिमबहादुर घले मलेसिया गएको ५ वर्षभन्दा धेरै भएको थियो । उहाँ मलेसियाको चिहानघारीमा मान्छे गाड्दा चाहिने सामान ओसार्ने काम गर्नुुहुन्थ्यो ।

मिमबहादुरकी श्रीमती केशरीमाया काठमाडौंमा बस्नुहुन्थ्यो । उहाँ काठमाडौं बस्न थालेको डेढ वर्षभन्दा धेरै भयो । मलेसियामा रहेका श्रीमानले केशरीमायालाई फोन गरिरहनुहुन्थ्यो । सोमबार पनि उहाँले श्रीमतीलाई फोन गर्नुभएको थियो । फोनमा उहाँले त्यो दिन साथीहरुले भोज दिन लागेको बताउनुभएको थियो । 

केशरीमाया भोजबाट फर्किएपछि श्रीमानले फोन गर्ने पर्खाइमा हुनुहुन्थ्यो । फोन बज्यो, तर श्रीमानले आत्तिँदै कुरा गर्नुभयो । उहाँले भोजमा रक्सी खाएपछि आफूलाई बान्ता हुन थालेको भनेपछि केशरीमाया आत्तिनुभयो । ‘दाइले भाउजुलाई भिडियो कल गर्न भन्नुभएछ’ मिमबादुरका कान्छा भाइ सोम घलेले उज्यालोसँग भन्नुभयो ‘तर भाउजुले भिडियो कल गर्न पाउनुभएनछ ।’

केशरीमायाले भिडियो कल गर्न खोज्दा मिमबहादुरलाई अस्पताल पुर्‍याइसकिएको थियो । मिमबहादुरका ठूलो बुवाका छोरा मलेसियामै थिए । त्यसैले परिवारले उनीसँग अस्पताल गएर अवस्था बुझ्न भन्यो । परिवारले भनेपछि उनी मिमबहादुलाई पु¥याइएको अस्पतालमा त पुगे । तर सबै जानकारी पाउन सकेनन ।

‘दाइले अस्पतालमै भएको बेला हामीलाई फोन गरेर त्यस्तो गाह्रो छैन रे भन्नुभएको थियो’ सोम भन्नुहुन्छ । त्यो खबरले केही राहत दिएको थियो मिमबहादुरको परिवारलाई । तर २४ घण्टा पनि नबित्दै केशरीमायाले कल्पनै नगरेको खबर सुन्नुपर्‍यो । मलेसियामा रक्सीका कारण नेपालीको ज्यान गएको खबरमा उहाँका श्रीमानको पनि नाम आयो । 

भिडियो कल गर्छु भनेका श्रीमानको मृत्युको खबरले केशरीमाया अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्न् ।

माघमा छुट्टीमा आएर फर्किएका थिए मिमबहादुर 

५ वर्षअघि मलेसिया गएका मिमबहादुर गएको माघमा दोस्रो पटकको छुट्टीमा घर आउनुभएको थियो । घरमा मिमबहादुरका हजुरबुवा, हजुरआमा, बुवाआमा र दुई जना दाजुभाई छन् । मिमबहादुर परिवारका जेठा छोरा ।

माइला भाइ अहिले दुवईमा छन् । छुट्टीमा आएका बेला मिमबहादुरले भुकम्पले भत्काएर बनाउँदै गरेको घर पुरा भएपछि फर्किने योजना सुनाउनुभएको थियो । तर उहाँको योजना पुरा हुन पाएन । 

अहिले मलेसियाको अस्पतालमा रहेको शव नेपाल ल्याइदिन आग्रह गर्दै भाइ सोम बिहीबार परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो । उहाँहरुलाई मन्त्रालयले मलेसियामा प्रक्रिया पुरा भएर शव आउने भएपछि खबर गर्ने जवाफ दिएको छ । मिमबहादुरका १० र २ वर्षका दुई छोरा छन् । 

यो पनि पढ्नुहोस् । 

मलेसियामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रम मन्त्रीको निर्देशन

अन्तिम अपडेट: चैत १, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

1 Comments

  • सुरेन्द्र खनाल

    Sept. 21, 2018, 3:23 p.m.

    विदेसमा बसेर यसो कहिलेकाही रमाइलो गरौ भनेर रमाइलो गर्नु भन्दा अगाडि धेरै कुराहरुमा बिचार पुर्‍याउन पर्छ। रक्सि खादै नखाउ त भन्दिन तर सस्तो र नजिक छ भन्दैमा ठाउठेगान नभएको बिषालु रक्सि नपिऔँ बरु अलि महंगो भएपनि गुणस्तरीय नै पिउन सल्लाह दिन्छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया