प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुकाे उम्मेदवारी

 असोज ४, २०७५ बिहिबार १७:४:५३ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरुको सभापतिको निर्वाचनका लागि १० जनाकै उम्मेदवारी परेको छ । 

बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दश वटा विषयगत समितिका सभापतिका लागि १० जनाले उम्मेदवारी दिनु भएको हो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उम्मेदवारी परेको छ ।

सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको सभापतिमा उम्मेदवारी परेको छ ।

त्यसैगरी शशि श्रेष्ठको राज्य व्यवस्था तथा सुशासन समितिमा, कृष्णप्रसाद दाहालको अर्थ समितिमा, जयपुरी घर्तीको शिक्षा तथा स्वास्थ्य समितिमा र कल्याणी कुमारी खड्काको विकास तथा प्रविधि समितिमा सभापतिको उम्मेदवारी परेको छ । सबै विषयगत समितिको सभापतिमा १-१ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुहुनेछ ।

शुक्रबार ती सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनु हुनेछ ।

सपथसँगै नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण गर्ने पनि सचिव योगीले बताउनु भयो ।

१० मध्ये ८ वटा विषयगत समितिको सभापतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालका विमलप्रसाद श्रीबास्तवको उम्मेदवारी दिनु भएको छ ।

शक्तिशाली मानिएको सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले दिनु भएको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको चयन यस अघि नै भइसकेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया