‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको सपना र नागरिकको चाहना हो, यसलाई रुखले थिच्नु हुँदैन’

 असोज ४, २०७५ बिहिबार १७:४२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा अहिले बहस तात्तिएको छ । कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले गरेको गरेको विस्तृत सम्भाब्यता अध्ययनले ८ हजार ४५ हेक्टर जमिन विमानस्थलको क्षेत्रफल हुने उल्लेख गरेको छ । ८ हजार ४५ हेक्टर क्षेत्रफल जमिनमा २४ लाख रुख रहेको अध्ययनले देखाएको छ । तर विमानस्थलको सबै क्षेत्रका रुख तत्कालै काटिने जसरी अहिले बहस भैरहेको छ ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा २५ सय ९४ हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने र त्यसको लागि जम्मा १ लाख ९४ हजार वटा ठूला रुख काट्नुपर्ने जनाएको छ । तर ३० सेन्टिमिटर भन्दा साना रुख गन्दा पहिलो चरणमा नै ७ लाख जति रुख काट्नुपर्ने देखिएको छ । ४४ प्रतिशत भन्दा धेरै वन क्षेत्रले ढाकिएको देशमा अलिअलि रुख काटेरै भए पनि विमानस्थल बनाउनुपर्छ भन्ने र रुख विनास गरेर विमानस्थल बनाउन हुन्न भन्ने बहस चर्किएको छ । यसै विषयमा अर्जुन पोख्रेलले पूर्वाधारविद् डा. सूर्यराज आचार्यसँग कुराकानी गर्नुभएको छ ।

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रुख काट्ने विषयमा भएको पछिल्लो बहसलाई तपाईँ के भन्नुहुन्छ ?

यो बहस राम्रो छ, उत्साहजनक छ । किनकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसरी हुने बहसले विमानस्थल, रेलवे, जलविद्युत लगायतका भौतिक पूर्वाधारलाई राम्रो, दिगो, र वातावरण-मैत्री बनाउनको लागि भूमिका खेल्छन् । ठूला पूर्वाधार बनाउन समय र लगानी धेरै लाग्छ, एकपटक बनेपछि त्यो सच्याउन धेरै समय लाग्छ । त्यसकारण त्यो बन्नुभन्दा अघि आएका यस्ता बहसले परिष्कृत निर्णयमा सहयोग पुर्याउँछ ।

एउटा बहसले त तपाईँले भनेजस्तो परिष्कृत निर्णय गर्न सहयोग गर्ला, तर केही बहसले त विकास नै रोकेका उदाहरण पनि त छन् नि होइन र ?

हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४०/५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन । त्यसैले उनीहरुले बनाएका ठूला ठूला परियोजनामावातावरणीय पक्षलाई उचित ध्यान नदिएर  उनीहरु पछुताएका अनुभव पनि छन् ।

उनीहरुको अनुभव र गल्तीले हामीलाई विकास र वातावरणबीच बुद्धिमत्तापूर्ण सन्तुलनको बिन्दु खोज्न सघाउँछ। हामीकहाँ अहिले विकसित देशले अपनाएका विकास र वातावरणका धेरै एजेन्डा आएका छन् । निजगढ विमानस्थलको रुख काट्ने बहस पनि यही हो । यसलाई हामीले गम्भीर सतर्कताका साथ हेर्नुपर्छ ।

उनीहरुले खोज्ने विकास र वातावरणको सन्तुलन अनि हामीले खोज्ने सन्तुलन एकै किसिमको नहुन सक्छ । नेपालमा हुने वातावरणको कुरामा पनि अन्तर्राष्ट्रिय चासो छ । तर सन्तुलनमा छ जस्तो लाग्दैन । जस्तै बाग्मतीको त्यस्तो निश्चल पानी ढलजस्तो भएको छ, यो पनि वातावरणकै कुरो हो । यसमा युरोपियन वातावरणवादीको ध्यान जाँदैन । तर जब हामी रुख काट्ने कुरा गर्छौं, यसमा अन्तर्राष्ट्रिय वातावरणवादीको निकै चासो बढ्छ । उनीहरुको र हाम्रो राष्ट्रिय चासो नमिल्न सक्छ नि । 

घुमाउरो हिसाबले निजगढका रुख कटानमा अनावश्यक बहस भएको र केही विदेशीको सहायताले यहाँ रुख काट्नै हुन्न  भनेर लबिङ गर्न थाले भन्न खोज्नुभएको हो ?

मेरो घुमाउरो कुरा र तपाइँको आशंका नाजायज होइन । मैले अघि पनि भनेको छु, विकासशील देशको विकासमा वातावरणको कुरा निकै ठूलो अर्थ राजनीति हुन्छ । नेपालमा पनि त्यही हुन थालेको छ । त्यसमा हामी चनाखो हुनुपर्छ । जनताको आकांक्षा र हाम्रो राष्ट्रिय स्वार्थ के भन्ने कुरा प्रष्ट हुनुपर्छ । वन वातावरण जोगाउने कुरा हाम्रो हितको कुरा पनि हो । वातावरण र विकासको सन्तुलन खोज्ने हाम्रो एजेन्डा पनि हो, अन्तर्राष्ट्रिय एजेन्डा पनि हो । तर अन्तर्राष्ट्रिय एजेन्डाले हाम्रो एजेन्डालाई थिच्न हुँदैन । यसमा हामीले बुद्धिमतापूर्वक आफ्नो स्वार्थ खोज्नुपर्छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालका आर्थिक विकासको लागि ठूलो संरचना हो भनिएको छ । तर खास यसको फाइदा न सरकारले बताउन सकेको छ, न त पूर्वाधारविद्ले नै । त्यही भएर पनि रुखको विषयले विकासलाई थिच्न खोजेको हो कि ?

हामीले आफ्नो स्वार्थ र आवश्यकताको बेलैमा अध्ययन गरेनौं भने हाम्रो विकासमा कुल्चिएर अन्तर्राष्ट्रिय स्वार्थ अनुसार नै खुम्चाउन सक्छन् । नेपालमा वातावरण संरक्षण सित्तैमा आएको छैन, विकास र पूर्वाधारलाई यसले निकै महँगो र बोझिलो बनाउन सक्छ । निजगढ विमानस्थल वातावरणको नाममा भूमरीमा पर्ने डर अस्वभाविक छैन ।

अहिलेको सत्ताधारी दल र प्रतिपक्षी दुवै दलले आफ्नो चुनावी घोषणापत्रमा नेपाललाई विकसित र सम्वृद्ध देश बनाउने उल्लेख गरेका छन् । त्यसैले विकास भन्ने कुरा व्यक्ति विशेष र दल विशेष भन्ने हुँदैन । यो त देशको विकास र नागरिक लक्षित हुनुपर्छ । राजनीतिक परिवर्तनमै देशको ४/५ वटा पुस्ताले विकास देख्न पाएन । अब चाहिँ विकास र समृद्धि हुनुपर्छ भनेर त दलहरुले पनि भनेकै छन् ।

खाडी जाने हाम्रा युवाले देशमा नै रोजगारी पाउनुपर्छ, देश सम्वृद्ध बन्नुपर्छ भन्ने सपना जायज छ । त्यसको लागि यहाँ ठूला पूर्वाधार बन्नुपर्छ । त्यसैले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ । यो हाम्रो विकास र समृद्धिको महत्वपूर्ण कडी हो, हाम्रो विकासको गेट वे हो ।

हुन त यहाँ ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भैसके नयाँ विमानस्थल किन चाहियो पनि भन्ने  केही प्रबुद्ध वर्गबाट सुनियो । त्यो त सरासर बुझाइको कमी हो । त्रिभुवन विमानस्थलको कुरा त थाहा छँदैछ, यहाँको भौगोलिक अवस्थाले गर्दा  ठूला क्षमताका जहाज बस्न सक्दैनन् र साँघुरो पनि निक्कै साँघुरो छ । एउटा मात्रै रन वे भएकाले यो एउटा ठिकठाकको अन्तर्राष्ट्रिय विमानस्थल नै होइन । पहिला काम चलाउको लागि मात्रै बनाइएको हो । त्रिभुवन विमानस्थल साँघुरो भयो भन्ने कुरा त २०/२२ वर्षअघि नै महसुस गरेर निजगढमा स्थान पहिचान गरेको हो नि ।

स्थान पहिचानसँगै पर्यटन भित्र्याउने र विदेशी लगानी भित्राउने सपना पनि त्यतिबेलादेखि नै देख्न थालेको हो । अहिले कुनै लगानीकर्ता नेपालमा लगानी गर्न आयो, तर विमानस्थल खाली नभएकोले १-२ घन्टा आकाशमा चक्कर लगाउँदा उसको इच्छा त्यसै मरेको हुन्छ । नेपालमा लगानी गर्न आएको मान्छे कुरै नगरी फर्किन्छ ।

पोखरामा २ सय सिटभन्दा माथिका जहाज बस्नै समस्या हुन्छ भनेका छौं । यस्तै भैरहवामा पनि पूर्ण स्तरको अन्तर्राष्ट्रिय विमान स्थल बन्न आफ्नै सीमितता छन् । यो कुरा बुझ्नलाई अखबारदेखि विद्युतीय मिडियाको बहसमा आउने मुर्धन्य टिप्पणीकारदेखि, लेखक, विश्लेषकका लागि सामान्य प्रविधिक ज्ञानको काफी छ । निजगढमा अन्तर्राष्ट्रियस्तरको नै विमानस्थल चाहिन्छ भन्ने उहाँहरुलाई पक्कै थाहा छ, तर नबुझे जस्तो गर्ने हो भने त कस्को के लाग्छ र?

निजगढमा हचुवाका भरमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने निष्कर्ष निकालिएको होइन । त्यसैले यसको ठाउँ, आकार र औचित्यमाथि बहस त गरौं । तर यो परियोजना नै अनावश्यक नै हो, रुख काटेर वातावरण खत्तम पार्ने भए भन्ने हिसाबका तर्क चाहिँ नगरौं  । 

अर्को कुरा, निजगढ विमानस्थललाई हामीले हब विमानस्थल हो पनि भन्दै आएका छौं, हब विमानस्थल कसरी हुन सक्छ ?

सरकारले निजगढलाई हब विमानस्थल बनाउने भनेको छ, जुनकुरा अस्वभाविक होइन। तर हब नै नभए पनि ठूलो र पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो आवश्यकता हो ।हब विमानस्थल भनेको निजगढमा अरु ठाउँबाट आएका साना विमानले ल्याएका यात्रु त्यहाँबाट ठूलो जहाजमा राख्ने र जाने भन्ने हो । अहिले मानौं ढाका, दिल्ली दुबई लगायतका विमानस्थलबाट साना विमानमा यात्रु निजगढ ल्याउने र त्यहाँबाट एअरबस ३८० मा राखेर सिड्नी जाने, पेरिस जाने यस्तो यस्तो हुन सक्छ ।

हाम्रो पूर्वाधार, योजना, अवस्थिति र जुन देशहरुको बीचमा छौं, त्यो कारणले पनि यो विमानस्थल हब हुन सक्ने सम्भावना छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको तथ्याङ्खअनुसार सन् २०३५ मा ७ अर्ब ५० करोड यात्रुले हवाईयात्रा गर्ने र त्यसमध्ये झण्डै ४ अर्ब ५० करोड यात्रु एसिया प्रशान्त क्षेत्रका हुने उल्लेख छ । यसरी हेर्दा हाम्रो निजगढ विमानस्थल पनि हब बन्न सक्ला कि भन्ने अपेक्षा पनि होला होइन ?

एकदमै हो । अहिले हाम्रो एअरलाइन्सको व्यापार सानो छ । तर पनि हामीले खुला आकाशको सिद्धान्त अनुसार पनि आम्दानी गर्न सक्छौं नि । उदार हवाई यातायातको नीति लिएर गयौँ भने हब बन्न सक्छ नि । यसमा हाम्रो स्पष्ट नीति चाहिन्छ । तर यसमै पनि हामी किचलो गर्न थाल्यौं, अनेक मुद्दा उचाल्यौं भने त त्यो बाटोमा पनि नपुग्न सक्छौं । 

यहाँ वातावरण र रुखको कुरा अनि क्षेत्रफत्रको कुरालाई लिएर धेरै कुरा आएका छन् । विमानस्थलले ओगट्ने क्षेत्र ८ हजार हेक्टर अनि पहिलो चरणमा बनाउन २५ सय हेक्टर चाहिने भनिएको छ । अरु देशमा सानो क्षेत्रमा ठूला विमानस्थल बनेका तर हामीलाई त्यति धेरै क्षेत्र किन चाहियो भन्ने तर्क पनि आएका छन् नि ?

पहिले त के कुरा बुझ्न जरुरी छ भने ८ हजार हेक्टर क्षेत्र भनेको विमानस्थलले चर्चिने क्षेत्र हो, सबै क्षेत्रफलमा निर्माण हुने भन्ने होइन । विमानस्थलको यकिन क्षेत्रफल एउटा हुन्छ, अनि विमानस्थल बाहिर विमानस्थल सुरक्षाका उपकरण र खाली ठाउँ छाड्नुपर्ने पनि हुन्छ । निजगढको मामला पनि विमानस्थलका भौतिक संरचना बन्ने बाहेकका ठाउँमा वन क्षेत्र नै रहन सक्छ  । ८ हजार हेक्टर त विमानस्थलको स्वामित्वमा रहने भयो । तर त्यहाँका जम्मै रुख काट्नु त पर्दैन नि ।

अहिले त पहिलो चरणको लागि २५ सय हेक्टर पनि किन, कतै ९ सय हेक्टरमै पनि छन् भन्ने प्रश्न पनि म सुन्छु । हङकङको विमानस्थल यति सानो, हिथ्रोको यस्तो, मुम्बईको उस्तो भन्ने तर्क पनि आएका छन् । तर साउदी अरबमै ७७ हजार हेक्टर क्षेत्रफलको विमानस्थल अनि अमेरिकामा भएका १३/१४ हजार हेक्टर क्षेत्रफल ओगटेका विमानस्थल पनि छन् नि !

हामीले के बुझ्नुपर्छ भने रन वे र टर्मिनल भवनको लागि त एक हजार हेक्टर नै काफी होला । तर त्यो शहर भएको ठाउँमा मात्रै हो । एअरपोर्ट नजिकै शहर छ, सबै सुविधा छ भने त्यो पनि सम्भव हुन्छ । हिथ्रो र हङकङमा त्यस्तै भएको छ । त्यसमाथि हङकङ त समुद्र पुरेर बनाउनुपरेकाले ठाउँ जतिसक्यो सानो नै बनाइयो । अनि हङकङमा त नजिकै शहर छ, विमानस्थललाई दैनिक चाहिनेआवास लगायतका सहरी सेवा सहजै उपलब्ध हुन्छ, तर विमानस्थल सहरबाट टाढा भएकोले न्यूनतम आवस्यक सहरी संरचना निर्माणका लागि पनिकेही धेरै क्षेत्र त लागिहाल्छ नि ।

अनि यस्ता कतिपय ठूला विमानस्थलमा त निर्यात प्रोत्साहित क्षेत्र भन्छ, हामीले त्यो पनि त बनाउन सक्छौं नि । जस्तै आइफोनको कुरा गर्दा भिन्न भिन्न देशमा भिन्न भिन्न पाटपूर्जा बन्छन् । धेरैतिर बनेका पाटपूर्जा जोडेर विमानस्थलको क्षेत्रभित्रैबाट निर्यात गर्न पनि सकिन्छ । यसलाई हामीले हाम्रो सम्वृद्धिसँग जोडेर हेरेको त्यै भएर पनि हो ।

५० वर्षअघि विमानस्थलको काम के हुन्थ्यो, कस्ता र कत्रा संरचना हुन्थे र अहिले के हुँदै गैरहेको छ भन्ने पनि हामीले बुझ्नैपर्छ । नयाँ बन्ने एअरपोर्टले हवाई यातायातका आधुनिक प्रविधिलाई ध्यानमा राख्दै एअरपोर्ट सेवालाई प्रतिस्पर्धि र भरपर्दो कसरी बनाउने भन्ने कुरामा बरु यथेष्ट ध्यान पुर्याउन जरुरू छ।

त्यसैले कुनै पनि फरक देशका पूर्वाधारको आकार ठ्याक्कै मिल्नुपर्छ भन्ने छैन । अरुको विमानस्थल र हाम्रा विमानस्थलको साइज कुचो काटे जस्तो ठ्याक्कै मिल्नुपर्छ भन्ने कहाँ लेखेको छ र ? उनीहरुको सानो भयो हामीले ठूलो किन बनाउने भन्ने त व्यवहारिक टिप्पणी होइन । 

विकास निर्माणको कुरा गर्दा विभिन्न पक्षका बहस त भै हाल्छन्, सरकारले बहसलाई फिल्टर गरेर उपयुक्त छ भन्ने ठान्यो भने परियोजना अघि बढाउने हो । निजगढ विमानस्थलको बारेमा यति धेरै बहस भैसकेपछि सरकारको भूमिका चाहिँ कस्तो हुनुपर्ला त ?

तपाइँले एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो । अहिलेको सरकारले हामी आर्थिक विकास र सम्वृद्धिमा प्रतिवद्ध छौं त भनेको छ । तर निजगढको बारेमा सरकारले नागरिकलाई बुझाउन सकेको देखिन्न । कुन विकासको परियोजनाले हामीलाई के दिन्छ भन्ने कुरा नागरिकलाई बुझाउनुपर्छ । तर सरकारले नारामै मात्रै सीमित गरेको छ । निजगढ विमानस्थल र द्रुतमार्ग बनेर सञ्चालनमा आएपछि त्यसले हाम्रो अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, अन्तर्राष्ट्रिय सम्पर्क कसरी बढाउँछ अनि पर्यटक वृद्धि कसरी गर्छ भनेर बुझाउनुपर्यो ।

नेताले सपना देख्ने मात्र होइन, त्यो सपना नागरिकमा सार्न सक्नुपर्छ । अनि नागरिकले पनि आफ्ना साना छोराछोरीलाई अब तिमी ठूलो भएपछि काम खोज्न मलेसिया कतार जानु पर्दैन, राम्ररी पढ, तिम्रो पालामा त निजगढ बन्छ, फाष्टट्रयाक बन्छ लगायतका कुरा बताउनुपर्यो । देशमै विकास हुँदैछ भन्नुपर्यो र विकासका ठूला योजनामा साथ दिनुपर्यो ।

निजगढ त अहिलेसम्म बनिसकेर नेपालले लाभ लिइरहेको हुनुपर्ने हो । तर दुःखको कुरा, तपाइँ हामी यसको साइजको बारेमा बहस गरिरहेका छौं । अरु ठिकठाकको राज्य संयन्त्र भएको ठाउँमा त यस्ता नितान्त प्रविधिक कुरामा बहस गर्ने र निष्कर्ष निकाल्ने काम विज्ञहरुको हो । तर यहाँ त मिडियावाजी मात्रै गर्ने भयो । कसैले रुख काट्लास् भन्ने, कसैले रुख नकाटी विकास कसरी हुन्छ भन्ने गलत धारको बहसले पो प्राथमिकता पायो ।

यहाँ त इन्जिनियरले हल्का सर्वे गर्यो र लाखौं रुख काटिने भयो भन्ने भ्रम फैलाइएको छ । इन्जिनियर पनि मान्छे हो, रोबाेट होइन, उसलाई पनि रुख मन पर्छ । अहिले पर्यटन मन्त्रालयका साथीहरु हुनुहुन्छ नि देश मरुभूमि बनाएर विकास गरौं भन्ने त उहाँहरुलाई पनि लागेको छैन होला । निजगढका रुख काट्दा देश मरुभूमि त बन्दैन । रुख जोगाउने जिम्मा त हाम्रो पनि हो नि ।

नचाहिने कामको लागि रुख काटियो, कसैले पैसा कमाउनकै लागि वातावरण विनास गर्यो भने त्यसको त भण्डाफोर हुनैपर्छ ।

अन्तिममा केही भन्नु छ ?

म एउटा कुरा के भन्छु भने, हामीसँग जुन स्रोत र साधन छ, त्यसको सदुपयोग भएको भए यति गरीब हुनु पर्ने थिएन । अब पनि हामीले ठूला विकास आयोजना अघि बढाउँदा सानातिना कुरामा हाही किन अल्झन खोज्दैछौं ? निजगढ विमानस्थल त देशको सपना, नागरिकको चाहना हो । अब कसैले देशको कायापलट हुने गरी विकासका आयोजना बनाउँदै छ भने यसको सकारात्मक बहस गरौं ।बरू पारदर्शी रुपमा छिटो भन्दा छिटो यो आयोजनालाई सम्पन्न गर्न सरकारलाई दवाव दिउँ।

प्रश्न पनि उठाऔं । तर प्रश्नले विकासलाई बन्देज होइन, परिष्कृत गरुन् । जहाँसम्म वातावरण र रुखको कुरा छ, त्यसमा अन्तर्राष्ट्रिय दृष्टिकोण एउटा हुन सक्छ, हाम्रो अर्को हुन सक्छ । विकास र वातावरणलाई कसरी सन्तुलन गर्ने भन्ने कुरामा नेपाली जनताको आकांक्षा र हाम्रो राष्ट्रिय स्वार्थ प्रतिबिम्बित हुनुपर्छ ।

याे पनि पढ्नुहाेस्

‘निजगढ विमानस्थल संसारकै हरियाली बन्छ, जम्मा साढे २ लाख रुख मात्रै काट्ने हो’

निजगढमा एउटा रुखको बदलामा २५ रुख रोपिने, मन्त्री भन्छन, ‘अब ब्याक हुन सकिन्न’

 

 

 

अन्तिम अपडेट: मंसिर २०, २०७५

5 Comments

  • धन राज घलान

    Sept. 28, 2018, 1:30 p.m.

    डा, सुर्य राजजीको कुरा पनि ठिकै हो तर पनि सबै भन्दा पहिले त भएको एउटा अन्तरास्ट्रिय बिमानस्थल लाई सुबिधा सम्पन्न र आधुनिक तवरले चलाउन सकेको छैन जहाँ दिन दहाडै घुस खोरी र अनिमियता चल्छ, अब यस्तो परिपेक्षमा कसरी भन्न सकिन्छ कि निजगढको बिमानस्थल सुबिधा सम्पन्न हुन्छ भनेर । अर्को कुरा बिकाशको नाममा त्यहाँ पनि भ्रष्टाचारको खेल सुरु भैसकेको छ । हामीले देखे अनुसार !

  • पुर्ण ओली

    Sept. 22, 2018, 5:27 p.m.

    डा. सुर्यराज जी को अन्तरबार्ता एकदम सकरात्मक छ। निजगढमा अन्तराष्ट्रीय एयरपोर्ट जतिसक्तो छिटो बन्नुपर्छ । कमसेकम रुख काटौ। त्यसको सट्टामा गरिने बृक्षारोपण जहाँ रोप्ने हो शुरु गरिहालौ। यसले पनि बाताबरणबिदको नाममा भाँजो हाल्नेको मुखमा बुझो लाग्छ।

  • Binod

    Sept. 22, 2018, 4:16 p.m.

    एक बराबर २५ का दर ले रुख रोप्ने स्थान कहाँ होला ल

  • Jiyam shrestha

    Sept. 22, 2018, 12:11 p.m.

    आसेपासेलाई फाईदा हुने भएपछि देसलाई फाईदा हुने । आफूलाई फाईदा भएन भने देसलाई पनि फाईदा नहुने पाराले सोच्ने प्रबृती एकदम नराम्रो छ । नेपालमा वातावरण बिनासलाई प्रोत्साहन दिने काम गर्न हुदैन ।अर्कों कुरा भएको एउटा एअरपोर्ट त राम्रो अवस्थामा राख्न संकेको छैन सुबिधा सम्पन्न बनाउन सकेको छैन । वातावरण विनास किन गर्ने ? एक मुँठी व्यक्तीको फाईदाका लागी ???

  • Shree Bhagwan Gupta

    Sept. 21, 2018, 11:39 p.m.

    Several type of project has been approved without prier information to public and Nagrik Samaj (Civil Society) also with specialist. There are many other options and alternatives, but it never comes under specialist discussion. For example EIA of Railway track, and its alignment have been approved from janakpur to Nijgarh. Another 150m wide forest is going to be clear and destructed from Bardibas to Pathlaiya along the south side of Mahendra Rajmarg. The question rises why it cannot be aligned from 15 km south of east west highway, so to minimize zero damage of existing forest cover. The next example is Hetauda Dhalkebar transmission line, it is also aligned along same high way. Its exact location is just 100 to 300 mt to the north of Mahhendrarajmarg. Can you assume how much forest will be going to be cut in area of (100mt*100km).There is still other options like it can be constructed from Amlekhgunj to Simra and then it could go just to east from Simra to Dhalkebar or to Janakpur. If it will pass through open land of Terai, about 100Km of forest area from Pathlaiya to Bardibas can be protected against deforestation. But It is quite one way, single decision of NEA, lot of forest is going to be destructed. so expert discussion is necessary to less damage of ecosystem where the issue of development came around.

तपाईको प्रतिक्रिया