खुर्सिद हत्या : परिवारले शव उठाउन मानेनन्, दोषीलाई पक्राउ नगरे आन्दोलन चर्काउने

 असोज ५, २०७५ शुक्रबार १२:७:१६ | सुमन पुरी
unn.prixa.net

सुनसरी –  मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्दा समेत हत्यारा पत्ता नलागेको भन्दै मुस्लिम अगुवाहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

सरकारका लापरवाहीका कारण पटक पटक मुस्लिम अगुवाहरुको हत्या भएको र हत्याराका बारेमा अहिलेसम्म सत्य तथ्य बाहिर ल्याउन सरकार असफल भएको भन्दै मुस्लिम अगुवाहरु विरोधमा उत्रिएका हुन् । खुर्सिद आलामका हत्या भएको २४ घण्टा बित्दा पनि सरकारकातर्फबाट ठोस कुरा नआएकाले गृहमन्त्री घटनास्थल आएर शान्ति सुरक्षासहितको प्रत्याभूति दिलाउनु पर्ने स्थानीयको अडान पश्चात खुर्सिदको शव घटनास्थलबाट उठाइएको छैन ।

विहीबार सुनसरी प्रशासन र स्थानीय मुस्लिम अगुवाबीच भएको वार्ता सकारात्मक  बने पनि सहमति भने जुट्न सकेको छैन । मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, शान्तिसुरक्षासहित गृहमन्त्री आउनु पर्ने स्थानीयको अडानलगायतका विषयमा सुनसरी प्रशासनले प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउने अनौपचारिक सहमति गरिएको थियो । सहमति अनुसार हिजै गृह मन्त्रालयलाई पीडितका मागका विषयमा पत्र पठाइसकिएको छ ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्ला सुरक्षा समितिको बैठक बसी मागका बिषयमा प्रदेश र संघीय सरकार समक्ष जानकारी गराएको बताउनुभयो ।
 
स्थानीयको मागसहित भुटाहादेखि घुस्कीसम्मका सुरक्षाकर्मीको टोली परिवर्तन गर्ने विषयमासमेत केन्द्रलाई जानकारी पठाइएको प्रजिअ उप्रेतीले बताउनुभयो । उता भुटाहामा सडक किनारमै शव राखेर सरकारी निर्णयको प्रतिक्षा गरिरहेका खुर्सिदका आफन्तसहित मुस्लिम अगुवाहरुले शव बजार परिक्रमाको तयारी थालेका छन् । 

शवसहित जिल्ला सदरमुकमा इनारुवा आउने कार्यक्रम रहेको र मुख्य राजमार्ग केन्द्रित आन्दोलन चर्काउने उनीहरुको तयारी रहेको छ । अगुवाहरुको बैठक बसी शव परिक्रम सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिने हरिनगर गाउँपालिकाका अध्यक्षसमेत रहेका मुस्लिम अगुवा गफार अन्सारीले जानकारी दिनुभयो  । शव पोष्टमार्टमको प्रकृया पूरा गरी राखेर आन्दोलनका कार्यक्रम अघि बढाइने मुस्लिम अगुवाहरुले जानकारी दिएका छन् ।

खुर्सिद हत्याको बिरोधमा हरिनगर ,भुटाहा सहित इनरुवा नगर क्षेत्रका निजी विद्यालयहरु बन्द गरिएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया