ललितपुरमा कुहिएकाे मासु बेच्ने ४ अाेटा पसलमा शिलबन्दी

 असोज ५, २०७५ शुक्रबार १२:२४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – सरकारले ललितपुर महानगरपालिकामा सञ्चालन चारवटा पशु बधशालाको मासु बिक्रिवितरणमा प्रतिवन्ध लगाएको छ ।

स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालित ५ वटा बधशालाको अनुगमन गरेको थियो । 

मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु विक्रि वितरणमा प्रतिबन्ध लगाइएको छ ।

देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ । उक्त बधशालाहरुले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर मैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु विक्रि वितरणमा रोक लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिनु भयो  ।

सील गरिएका बधशालाहरुमा दैनिक ३० भन्दा बढी राँगा  र भैँसी काट्ने गरेको पाइएको छ । काटेको मासु खान अयोग्य भए पछि नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले मानव स्वास्थ्यका हिसावले उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म विक्रि वितरणमा प्रतिवन्ध लगाइएको बताउनु भयो ।

अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो । तर ए वान मिट सपका सञ्चालक सरोज खड्गीले भने सरकारले जहिले पनि सुधारको मात्र कुरा गरेको भन्दै पहिले भन्दा सुधार गर्दै लगेको दावी गरे । उनले सरकारले जग्गा उपलब्ध गराइदिए आफूहरु जग्गा किनेर व्यवस्थित रुपमा बधशाला सञ्चालन गर्न तयार रहेको बताए ।

कृषि राज्यमन्त्री चौधरीले व्यवसायको नाममा आम मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया