सरकारको कडाईपछि गले यातायात व्यवसायी, आन्दोलन फिर्ता

सिन्डिकेट पक्षधर कमजोर

 बैशाख २२, २०७५ शनिबार ६:४८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २२ – सरकारले सिन्डिकेट व्यवस्था खारेजपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । 

शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् । व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् । 

सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा शनिबार देशभर गाडी ग्यारेजमै थन्काएका थिए । तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो । 

शुक्रबार यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सिवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झण्डै  सय जना यातायात व्यवसायीहरु पक्राउ परेका थिए । 

विज्ञप्तिमा शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया