ठेकेदारलाई फेरि नदी दोहनको अनुमति !

 असोज ५, २०७५ शुक्रबार १४:२१:२९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – जिल्ला समन्वय समितिले बालुवा तथा गिट्टीजस्ता नदीजन्य पदार्थ निकाल्न पुनः अनुमति दिएको छ ।

नदीजन्य पदार्थको अनुगमन समितिकोे बैठकले सिन्धुपाल्चोकमा प्रारम्भिक वातावरणिय परीक्षण भइसकेका र ठेक्का प्रक्रिया पूरा भइसकेका नगर र गाउँपालिकाको हकमा ठेकेदार मार्फत नदीजन्य पदार्थ निकाल्न दिने सहमति भएको छ ।

यस्तै प्रारम्भिक वातावरणिय परीक्षण नभएका र ठेक्का प्रक्रियामा नगएको हकमा गाउँपालिककाको कर्मचारी राखेर नदीजन्य पदार्थ निकाल्न दिने निर्णय बैठकले गरेकोे जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

असार, साउन र भदौ गरी ३ महिना जिल्लामा रोकिएको नदीजन्य पदार्थ उत्खनन् खुलाउने विषयमा छलफल पछि यस्तो निर्णय भएको हो । जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा व्यक्तिहरुले पनि नदीजन्य पदार्थ उत्खनन् गर्दै आइरहेका छन् ।

यसरी गरिने नदी दोहनका कारण स्थानीय भने मारमा परेका छन् । तर जिल्ला समन्वय समितिले स्थानीयको कुरालाई बेवास्ता गर्दै फेरि पनि नदीजन्य पदार्थ उत्दनन गर्न अनुमति दिएकोमा स्थानीयहरु भने असन्तुष्ट रहेका छन् ।

सरकारले वर्षादको समयमा तीन महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

अनुगमन समितिका संयोजक तथा जिससका प्रमुख कृष्णगोपाल तामाङले पुनर्निर्माणमा रहेका नागरिकहरुका लागि पनि तत्काल निर्णयमा पुग्नुपर्ने भएकाले सबै गाउँपालिकाका प्रमुख लगायत जिल्ला समिति बसेर यस विषयमा टुङ्गो लगाएको बताउनुभयो ।

यसअघि पनि जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिले प्रभावकारी काम नगरेको आरोप लाग्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया