एएफसी यू-१६ महिला च्याम्पियनसिप छनाेट: नेपालकाे पाेष्टमा म्यानमारकाे गाेलकाे वर्षा, ११-१ ले पराजित

 असोज ५, २०७५ शुक्रबार १८:०:५३ | उज्यालो सहकर्मी

काठमाडाैं - थाइल्याण्डमा हुने एएफसी यू १६ महिला च्याम्पियनसिपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

पहिलो खेलमा फिलिपिन्सँग ४–० ले पराजित भएको नेपाल शुक्रबार म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएपछि छनोटको सम्भावना सकिएको हो ।

हलचोक मैदानमा आज भएको खेलमा म्यानमारले पहिलो हाफको सुरुदेखि नै गोलको वर्षा गरेको थियो । पहिलो हाफको चौथो मिनेटबाट गोल खान शुरु गरेको नेपालले ६३औं मिनेटसम्म खेल पुग्दा नेपालले ११ गोल खाएको थियो ।  

नेपालले ७४औं मिनेटमा सान्त्वना गोल फर्काएकाे थियो । नेपालका लागि एक मात्र गोल सावित्री ठोकरले गरेकी हुन् । 

 म्यानमारका लागि स्वीओर माङले पहिलो हाफको ३८ मिनेटभित्र  एक्लै ५ गोल गरेकी थिइन् । उनले चौथो मिनेटमा  गोल गर्दै सुरुआत गरेकी थिइन् ।

उनले ४, ६, १७, २० र ३८औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै मायाट खिनले ९, २९ र ३३  औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । पहिलो हाफकै  तेस्रो मिनेटमा जिन मारले गोल गरेकी थिइन् ।

फु रेनले ३०औं  तथा पोन्ट पोन्टले ६३ औं मिनेटमा थप एक गोल गरिन् । नेपालले  पहिलो हाफमा १० गोल खाँदा दोस्रो हाफमा भने १ गोल मात्र खाएको थियो ।  

यसअघि आजै भएको पहिलो खेलमा फिलिपिन्सले लगातार दोस्रो जित निकालेको छ ।

हलचोक रंगशालामा सम्पन्न खेलमा समूह ई मा रहेको फिलिपिन्सले मलेसियालाई १–० गोलअन्तरले पराजित गरेको हो । पहिलो खेलमा नेपाललाई पराजित गरेको फिलिपिन्स लगातार दोस्रो जितसँगै लिग तालिकाको शीर्ष स्थानमा छ ।

खेलको ८१औं मिनेटमा अलामोको गोल फिलिपिन्सको जितमा निर्णायक बन्यो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया