न्यूयोर्कमा हुने भनिएको भारत–पाकिस्तान वार्ता किन भयो रद्ध ?

 असोज ६, २०७५ शनिबार ७:१०:४१ | एजेन्सी
unn.prixa.net

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी समकक्षी शाह महमूद कुरैशीबीच आउँदा हप्ता न्यूयोर्कमा हुने भनिएको वार्ता भारत सरकारले रद्ध गरेको छ । 

एनडीटीभीले जनाए अनुसार जम्मू–कश्मीरमा आतंकवादीहरुले तीन जना भारतीय प्रहरीको अपहरणपछि हत्या गरेको घटनाका कारण भारतले वार्ता रद्ध गरेको हो । 

यसै विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भनेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको वार्ता सुरु गर्न प्रस्ताव दिएका थिए । जसलाई भारतले स्वीकार पनि गरेको थियो । तर शुक्रबार जम्मू–कश्मीरमा घटेको घटनापछि इमरान खानको वास्तविक अनुहारको पर्दाफास भएको छ ।’

रवीश कुमार अगाडि भन्छन्, ‘इमरान खानको पत्र प्राप्त भएपछि दुई देशबीच सकारात्मक सम्बन्ध अगाडि बढ्ने आशा पलाएको थियो । तर अहिले त्यही पत्र दूर्भावनाका साथ दिएको महसुस हुन थालेको छ ।’ प्रवक्ता कुमारले ‘आतंकवाद र वार्ता’  एकसाथ चल्न नसक्ने बताए ।

यसअघि पनि सन् २०१५ मा भारत र पाकिस्तानको बीचमा द्विपक्षीय वार्ता  हुनेवाला थियो । तर त्यतिबेला पनि जम्मू–कश्मीरको एक सैन्य शिविरमा आतंकवादी आक्रमण भएपछि भारतले वार्ता रद्ध गरेको थियो ।

त्यही वर्षको डिसेम्बरमा भारतीय विदेशमन्त्री सुष्मा स्वाराज ‘हार्ट अफ् एसिया’ कार्यक्रममा भाग लिन इस्लामाबाद गएकी थिइन् । तर त्यतिबेला आपसी सम्बन्धका बारेमा विशेष कुराकानी हुन सकेन । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया