बामदेवका लागि जुन सिट खाली गरे पनि हुन्छ, जित्ने कांग्रेसले नै हो : प्रवक्ता शर्मा

 असोज ६, २०७५ शनिबार ९:५१:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले कुनै सिट खाली गराएर नेता बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा वर्तमान सरकारको जनमतको परीक्षण हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले  गौतमका लागि नेकपाले जुन सिट खाली गराए पनि नेपाली कांग्रेस विजयी हुने दावी गर्नुभयो । 

गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो  निर्वाचन क्षेत्र खाली गराएमा आफूहरुलाई निर्वाचनको तयारी गर्न सहज हुने शर्माले बताउनुभयो ।

उहाँले  गठन भएको ६ महिना मात्रै भएकाले वर्तमान सरकारको कामको आलोचना गर्ने समय भइनसकेको बताउनुभयो ।

प्रवक्ता शर्माले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भए पनि शान्ति सुरक्षाको सन्दर्भमा भने सरकार कमजोर देखिएको टिप्पणी गर्नुभयो । दुई तिहाईको साथले प्रधानमन्त्री बलियो नहुने भन्दै कार्यक्षमताले मात्रै प्रधानमन्त्रीलाई बलियो बनाउने उहाँको भनाई छ । 

सरकारले अहिलेसम्मको कामकारबाहीको मुल्यांकन गर्दै सच्चिएर अघि बढ्नु पर्नेमा प्रवक्ता शर्माले जोड दिनुभयो । 

संविधान खतरामा नपरोस् भन्दै शर्माले संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक भएकोमा जोड दिनुभयो । अहिले पनि प्रदेशको नामाकरण नभएको, राजधानीका विषयमा प्रवेश नभएको भन्दै उहाँले संविधानको कार्यान्वयन र पालनामा सरकार कमजोर देखिएको बताउनुभयो । 

प्रदेशको नामाकरण र राजधानीका विषयमा प्रदेश सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले करको विषयमा स्थानीय तहलाई दोष देखाएर सङ्घीयता प्रति नै नकारात्मक धारणा बनाउन मद्दत गर्नु भन्दा पनि संविधान अनुसारको प्राकृतिक श्रोत तथा वित्त आयोग गठन गर्न सुझाव दिनुभयो । उहाँले समयानुसार पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • Kamal luitel

    Sept. 22, 2018, 10:13 a.m.

    A loser said to the winner, " I would have won the election if you and your party had not done good for the welfare of Nepalese people." कति हाँस्नु ?

  •  0 Reply

तपाईको प्रतिक्रिया