आगलागी पीडितको चित्कार : बर्खा लाग्यो, छैन गास र बासकाे टु‌ंगाे

 जेठ २२, २०७५ मंगलबार १५:१९:६ | श्याम बिसी

मुगु – कार्मारोङ्ग गाउँपालिका –४, किम्री गाउँका आगलागी पीडितहरुलाई बर्खाको समयमा कहाँ बास बस्ने र के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

टोलमा कोही नयाँ मान्छे पुग्यो कि गएको वैशाख २० गते भएको आगलागीका पीडितका आँखा रसाइहाल्छन् । आगलागीबाट १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए । अहिलेसम्म पनि १९ घरका १५० जना पालको छानोमा आश्रय लिएर दिन कटाउन बाध्य छन् ।

आगलागीपछि केन्द्र सरकार, प्रदेश सरकार र सरकारी तथा गैरसरकारी निकायबाट तत्काल आवश्यक पर्ने राहत सामाग्री पुगेको भए पनि उनीहरुलाई बर्खाको समय शुरु हुनै लाग्दा अब पालकै टहरामा कसरी दिनरात कटाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

पीडित स्थानीयवासी अहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराएका पाल र गाउँलेले सहयोग गरेको काठ बेरेको टहरामा समय गुजारिरहेका छन् । ‘बिहान बेलुकी विद्यालय जाने उमेरका बालबालिका कापी, कलम, झोला तथा विद्यालय पोशाक खोज्छन्’, आगलागी पीडित ६५ वर्षीय सोनाम छिरिङ्ग लामाले भन्नुभयो, ‘जंगल गएका पशुवस्तु पनि साँझ गाउँनजिक आएर आफ्नो बास खोज्दै कराउछन्, हाम्रो रुनु बाहेक अरु बिकल्प छैन् ।’

वर्षातको समय आउनुअघि बास बनाउने आफूहरुको अवस्था नभएको र छिमेकीको साहारामा दिन काट्नु आफूहरुको दैनिकी भएको स्थानीयबासिन्दाको भनाई छ । अग्नि पीडितका लागि तत्काल आधारभूत राहत व्यवस्था गरिए पनि उनीहरुको अस्थायी पुनर्वास व्यवस्थापनका लागि विभिन्न गैर सरकारी संघ संस्था, निजी क्षेत्रसँग समन्वय गर्ने कार्य जारी रहेको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।

‘जति सकिन्छ चाँडो  वर्षाअघि नै अस्थायी बसोबासको व्यवस्थापन गर्न पाए हुन्थ्यो’, समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भन्नुभयो, ‘हामीले विभिन्न निकायहरुसम्म अस्थायी बास व्यवस्थापनका लागि पहल गरिरहेका छौं ।’

यार्चा संकलनमा पनि गएनन् पीडित 

यो समय त्यसे क्षेत्रका अधिकांश स्थानीयबासिन्दा पाटनमा यार्चा संकलनका लागि जाने र वर्षभरीको खर्च टार्ने समय हो । यार्चा संकलन शुरु हुनुको एक साता अघि भएको आगलागीबाट उनीहरुको तयारी अवस्थामा रहेको सामान, धन सम्पत्ति सबै जलेर खरानी भयो ।यही कारण उनीहरु यार्चा संकलनमा जान सकेका छैनन् । 

‘घरमा भएको लुगा फाटो अन्नपात सबै जलेर खरानी भयो, हिमालमा जाँदा जौँ, गहुँ, नाफल, फापर, कोदो आदीको सातु तथा पिठो चामल लिएर जान्थ्यौ, अहिले केही छैन’, पीडित कार्मा वाङ्गजुक लामाले भन्नुभयो, ‘एकसरो लुगा बाहेक केही बचेन, त्यही अवस्थामा कसरी हिमाल जानु ?’ 

आफन्तजनले नासो स्वरुप दिएको चिउरा, दालमोठ, चाउचाउ लिएर केही पीडितहरु हिमाल यार्चा खोज्न गएको भए पनि धेरैजसो पीडितहरु यो वर्ष जान नपाएको उहाँको भनाई छ । यो पटक यार्सा संकलनका लागि अग्नि पीडितलाई वन प्रवेश शुल्क लिइएको छैन । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

श्याम बिसी

मुगुका उज्यालो सहकर्मी श्याम बिसी रेडियो मुगुमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया