नेपालमा संगीत सोख हो, भारतमा संस्कार

 असोज ६, २०७५ शनिबार १३:१९:९ | दिलिप कुमार ज्याेति
unn.prixa.net

‘म्युजिकमा मास्टर्स ! संगीतको पढाई सोधेको होइन मैले । तपाईँको एकेडेमिक चाहिँ कति हो ?’

म्युजिकमा मास्टर्स । एकेडेमिक नै एम.म्यूज (संगीत प्रविण) अर्थात म्युजिकमा मास्टर्स हो मेरो । संगीतमै पीएचडीको लक्ष्य छ अब । प्रायः मैले झेल्ने प्रश्न अनि दिने उत्तर हो यो । जब संगीत नै मेरो जीवनको मूल आधार हो भने । यो मेरो एकडेमिक नहुने सवाल उठाउनु नै गलत हो । नेपालमा संगीतप्रति आम मानिसको धारणामा अझै परिवर्तन आउन सकेको छैन । यसले कहिलेकाहीँ दुःखी बनाउँछ मलाई ।

कसैले म संगीत पढ्न चाहन्छु, यसैमा उच्च शिक्षा हासिल गर्छु भन्यो भने उसलाई हाँसोको पात्र बनाइन्छ । अभिभावकसमक्ष संगीत पढ्ने इच्छा जाहेर गर्‍यो भने फुर्सदमा सिक्नु भन्ने उत्तर आउँछ । हाम्रो समाज अझै पनि संगीतलाई अतिरिक्त क्रियाकलाप ठान्छ ।  त्यसमाथि शास्त्रीय संगीतलाई पुरातन संस्कृतिको एउटा खण्ड मान्छन् । संगीतको व्याकरणलाई अस्वीकार गर्छौं हामी । 

यो हाम्रो संगीत हो भन्न लजाउँछौं । वैदिक ऋचाहरु त सर्वमान्य सिद्धान्त हुन् नि, होइन र ? यसलाई स्वीकार गर्दैनाैँ भने त  हाम्रो पतन निश्चित छ । जबसम्म यो सोचाईमा परिवर्तन आउँदैन, संगीत शौख नै हुन्छ नेपालीको लागि । 

आफ्नो दैनिकीमा जे कुरा उतारिन्छ त्यो बिस्तारै संस्कारमा परिवर्तन हुन्छ । संगीत केवल मनोरञ्जनमा मात्रै सीमित भएपछि संस्कारको साटो विकृति बन्छ । नेपालमा संगीत शौख हो, भारतमा संस्कार । म कार्यक्रमको सिलसिलामा जाँदा कहीँ कतै सुनेको यो भनाई साह्रै घत लाग्छ । 

सात सुरभित्रका सुर नै लगाउने हो । अलि जान्नेले १२ स्वर र त्योभन्दा बढी जान्न चाहनेले २२ श्रुतिको (एक सप्तक भित्र हुने स्वरहरु । अहिले १२ स्वर मात्र प्रचलनमा छन्) खोजी गर्छ । 

शास्त्रीय संगीत आधुनिक संगीत र लोकसंगीत छुट्टाछुट्टै होइनन् । सहजताको लागि संगीतमा बिधा छुट्याईएको हो । संगीत सबै एकै हुन् । विगतमा संगीत बुझाईमा पनि केही अस्पष्टता हुनाले एकले अर्काको बिधालाई होच्याउने प्रवृत्ति थियो । अहिले त्यस्तो छैन । अहिलेको पुस्ता फ्यूजनमा रमाउन थलिसक्यो । संगीतको प्लेटफर्म वर्ल्डवाइड भैसक्यो ।  

शास्त्रीय शास्त्रबद्घ भए पनि स्वतन्त्र छ । एउटै राग दोहोर्याएर गाउँदा पनि प्रत्येक स्वरका आलापका आरोह अवरोहले नविनताको आभाष दिन्छ । यो ध्यान हो । सायद त्यसैले होला ध्यानमा प्रवेश गर्नु अगाडि संगीतको साहारा लिईएको । ध्यानमा नित्य नविनता पाए जस्तै यसमा पूर्ण स्वतन्त्रताको महसुस गर्छु म । आधुनिक संगीत चाहिँ एउटा सीमाभित्र बाँधिएको हुन्छ । निश्चित सुर र ताल भित्र गाईसक्नुपर्छ । यो आत्मिक भए पनि अलि बढी मनोरन्जनमुखी लाग्छ मलाई । 

बाबाले मेरो बाल्यकालको संगीतप्रतिको झुकावको कुरा सुनाउँदा अहिले म आफैं दंग पर्छु ।  आफैंलाई पत्यार लाग्दैन । ४—५ वर्षकी थिएँ होला म सायद त्यतिबेला । ध्रुपद गायक पण्डित भवनाथ शर्माको गायन थियो किराँतेश्वरमा । वरिष्ठ तवला बादक पण्डित होमनाथ उपाध्याय पखवाजमा संगत गर्दै हुनुहुन्थ्यो । मेरो बाबालाई तानपुरामा संगत गर्न बोलाईयो । म बाबाको पुच्छर । बाबा जता जानुभयो, त्यतै जानुपर्ने । बाबाले कस्लाई जिम्मा लगाएर जानुभाथ्यो कुन्नि, बाबालाई स्टेजमा देखेपछि म पनि स्टेजमै उक्लेछु । 

भवनाथ गुरु अलि सन्की स्वभावको । सानो कुरामा चित्त बुझेन कि रिसाई हाल्ने । अब त्यहाँ के हुने हो भन्ने सबैलाई परेछ । मेरो बाबालाई चाहिँ अब आज भवनाथ गुरुले के वितण्डा मच्चाउने  हो भन्ने लागेछ । म चाहिँ गुरुसँगै बसेर गुरुले जे गाउनुहुन्छ त्यसैलाई ‘कपि’ गरेर गाउन थालेछु ।

यो कुरा होमनाथ गुरुले एकदम ध्यान दिएर हेरिरहनु भएको रहेछ । त्यसपछि उहाँले यो बच्चामा केही खास छ भनेर आफ्नै सानिध्यता प्रदान गर्नुभयो । । संगीत भनेर मैले थाहै नपाउँदाको कुरा रहेछ यो । संगीतसँग त्यत्ति निकट रहेछु पहिलेदेखि नै म । धेरै पछिसम्म पनि विभिन्न कार्यक्रममा होमनाथ गुरुले मलाई लिएर जानुहुन्थ्यो । एकदम माया गर्नुहुन्थ्यो । 

‘मस्त निद्रामा पनि गीत बजेको सुनेपछि उठेर नाच्थिस् त, सकेपछि फेरि सुत्थिस’ भनेर हजुरआमाले पनि भन्नुहुन्थ्यो । मेरो बुबा (विनय वर्मा) संगीत शिक्षक उहाँको काखमै हारमोनियमका पर्दासँग खेल्दै हुर्केको हो म । 

हार्माेनियम र सरगमका बोलसँगै मेरो बिहानी हुन्थ्यो । यसैसँग लुटपुटिंदै रात परेको पत्तै हुँदैन थियो । त्यसैले संगीतको मुर्छनाले जति अरु चिजले मन छोई हाल्दैन । 

बाबा मेरो पहिलो शिक्षक भएपनि किराँतेश्वर संगीत आश्रमसँग मेरो निकटता धेरै नै छ । ०६१ सालमा मैले राग जौनपुरी गाएर सानै उमेरमा प्रथम स्थान हासिल गरेको ठाउँ यो ।

मेरो दाइ स्वर्गीय सन्तोष वर्मा (तबला वादक) पनि किराँतेश्वरको संगीत माहोलमै हुर्कनुभएको हो । कहिले दाइ, कहिले बाबासँग किराँतेश्वरको कार्यक्रममा म प्रायः सहभागी भैरहन्थे । 

यद्यपि अहिले पनि यो क्रम जारी छ । प्रत्येक पूर्णिमामा शास्त्रीय संगीत र भक्ति संगीतको कार्यक्रम हुन्छ त्यहाँ । अहिले पनि हुन्छ । मेरो घर कपनबाट किराँतेश्वर नजिकै पर्ने र परिवार पनि सांगीतिक हुनाले किराँतेश्वर घरपछिको घर जस्तै लाग्छ मलाई । एकप्रकारको गुरुकुलीय परम्परा छ त्यहाँ । त्यो माहोलमा आफूलाई निखार्ने मौका पाउनु ठूलो कुरा हो मेरो लागि ।

८४ जना प्रतिस्पर्धीहरु भएको ०६७ सालको रेडियो नेपालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा त्रिविक्रम पाण्डेको शब्द र बाबा (विनय वर्मा) को संगीतमा ‘हुरी चल्दा कोपिलामै ’गीत लिएर भाग लिँदा मुख्य निर्णायक फत्तेमान राजभण्डारी हुनुहुन्थ्यो । विश्व नेपाली आनन्द राईको संगीतमा र राज सिग्देल चण्डि काफ्लेको संगीतमा ‘उ जितेर गई या हारेर गई’ गजल लिएर प्रतिस्पर्धामा उत्रनु भएको थियो । 

निकै ‘टफ कम्पिटिसन’ थियो त्यो । अलि कडा मिजासको, जो पायो त्यसलाई हतपत नपत्याई हाल्ने फत्तेमान बाले १० चोटी पुनः गीतको रेकर्ड सुनेपछि मात्रै रिजल्ट आएको थियो । म प्रथम, विश्व नेपाली दोश्रो र राज शिग्देल तेश्रो हुनुभएको थियो त्यो प्रतियोगितामा । 

खुशीको कुरा र संयोग पनि भनौं यसलाई, हामी तीनैजना संगीत क्षेत्रमै छौं अझै । र यसको उत्थानमामै लागिरहेका छौँ। 

अहिलेकी भारतकी प्रसिद्घ शास्त्रीय गायिका कौशिकी चक्रवर्तीको नेपालमा भएको एउटा ‘शो’ हेरेपछि मेरो बाबालाई उनको गायकी र ‘पर्सन्यालिटी’ले साह्रै मोहित पारेछ । शास्त्रीय संगीतकै पृष्ठभुमि भएको हुनाले मेरी छोरीले पनि यस्तै ख्याती आर्जन गरोस् भन्ने चाहना थियो उहाँको । ‘प्लस’ मलाई पनि कौशिकीको पर्सनालिटीले छोएको थियो । संगीत नै जीवनको मुख्य आधार र मेरो ‘बेस’नै शास्त्रीय संगीत हुनाले र संगीतमै केही गरौं भन्ने मनसायले मास्टर्सको लागि कोलकत्ताको रविन्द्र भारती विश्वविद्यालय रोजेकी हुँ मैले । 

हाम्रोमा घराना (गुरुकुलीय पद्धति) लागू हुन सकेन । सबैतिरको घराना ‘मिक्स’ छ । वादनतर्फ राम्रो भए पनि गायनतर्फ त्यति जम्न सकेका छैनाैँ हामी । यस्तो हुँदा अलि ‘कन्फ्यूज्ड’ पनि भएको छ हाम्रो शास्त्रीय संगीत । त्यसैले मैले ५ वर्ष किराना घरानाकी आदरणीय विदुशी ‘सुप्रिया डे दत्त’सँग गुरुकुलीय  पद्घतिमै कोर्स कम्प्लिट गरेकी हूँ । 

गोपाल नायकबाट सुरु भएको यो घराना उस्ताद बन्दे अली खां, उस्ताद अब्दुल करिम खां, पं सबाई गन्धर्व, सुरेश मेने, गंगुवाई हंगल, पं.भिमसेन जोशी, प्रभा आत्रे, बेगम अख्तर, हिन्दी सिने जगतका प्रसिद्घ गायक मोहम्मद रफी जस्ता संगीतका सुप्रसिद्घ कलाकारहरुको घराना हो । यो घरानामा जोडिन पाउनु मेरो अहोभाग्य ठान्छु । 

जयपुर घरानाको भए पनि किशोरी अमोनकर र किराना घरानाकै पं.भिमसेन जोशीलाई विशेष सुन्न रुचाउँछु म । संगीतको गहन अध्ययन गर्ने सबैले सुन्नुपर्ने आवाज हुन यी ।

संगीतको प्लेटफर्म विश्वव्यापी भैसकेको छ । कुनै एउटा विधालाई मात्र च्याप्नु भनेको आफ्नो अस्तित्व गुमाउनु हो ।  आधारभूत शिक्षा लिइसकेपछि सबै विधाका गीत गाउनुपर्छ । सबै विधालाई न्याय गर्नसक्नु नै असली कलाकारको पहिचान हो । व्यवसायिकता बिनाको संगीतले हाम्रो संगीत उँभो लाग्न सक्दैन मेरो विचारमा । 

‘ए दाजु नसमाउ नाडीमा’, ‘साजन मोरे घर आओ’(राग जोगमा आधारित फ्यूजन जाम) जस्ता व्यावसायिक गीत मैले पनि गाएकी छु । केही त्रुटी सबैमा हुन्छ । यसलाई सपार्दै जाने हो । यद्यपि संगीतमा  सुर मिलाउने नयाँ नयाँ सफ्टवेयरको प्रयोगले बेसुराहरुलाई केही अवसर दिए पनि यो दीगो हुने छैन । 

यता शास्त्रीय संगीततर्फ पनि हालत उही लाग्छ मलाई । संगीत क्षेत्रमा ख्याती कमाई सक्नुभएका कतिपय कलाकारहरु पनि भारतका विभिन्न इन्स्टिच्यूटहरुबाट लिइने परीक्षाको सर्टिफिकेटको लागि मात्रै दौडधुप गरेको देखेको छु मैले । जसको कुनै अर्थ छैन । 

केही समय अघिसम्म पनि सर्टिफिकेट हात पार्नु ठूलो कुरो ठानिन्थ्यो । सर्टिफिकेट प्रदर्शनले कलाकारमा अन्तरनिहीत कला त प्रष्फुटन हुन्न नि । कला त लामो समयको अभ्यास पछिको निखारताको परिणाम हो । ‘फेस टु फेस पर्फोमेन्स’ पछि मात्र कसमा कत्तिको क्षमता छ पत्ता लगाउन सकिन्छ । कतिपय संगीत गुरुहरु ‘सर्टिफिकेट’ भजाएरै यो क्षेत्रमा टिकिरहनु भएको छ । जसलाई साधारण सुर तालको पनि ज्ञान छैन । यो दुःखद कुरा हो । यो प्रवृत्तिको मुकाबला संगीत क्षेत्रका सबैजनाले मिलेर गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

संगीत प्रयोगात्मक विषय हो । त्यसमाथि शास्त्रीय संगीत गहन विषय हो । हामीकहाँ प्रयोगात्मक भन्दा बढी सैद्धान्तिक शिक्षामा जोड दिइएको छ । जबकी संगीत पूर्णतः प्रयोगात्मक शिक्षा हो । स्कुलदेखि नै संगीतलाई अनिवार्य बनाउनेतर्फ कसैको चासो छैन । सरकारी कलेजहरुमा एउटै संगीत कक्षामा पचासौ जना राखेर सिकाउने परिपाटीको अन्त्य कहिले हुने हो कुन्नि ? यस्तो कुरा सोच्यो भने त ‘फ्रस्टेशन’ हुन्छ । 

श्रुति संगीतालय, अतुल मेमोरियल र सृजना कलेज अफ फाइन आर्ट्समा ससाना भाइ बहिनी र युवाहरुलाई संगीत सिकाउँदा भने म ‘पोजिटिभ’ हुन्छु । मेरो तर्फबाट संगीतका लागि गर्नुपर्ने सबै प्रयास जारी छ । म आफूले सिकेका कतिपय संगीतका खजानाहरुलाई बचाई राख्न पनि यो क्षेत्रप्रति दृढताका साथ लागिपरेकी छु ।

प्रस्तुतिः दिलीप कुमार ज्योति 

अन्तिम अपडेट: चैत १, २०८०

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

1 Comments

  • suraj

    Sept. 23, 2018, 3:02 p.m.

    दिलिप कुमार ज्योति दाईलाई धेरै धेरै धन्यवाद छ /कुरा सही नै हो "संगीत सबै एउटै हो, मात्र सजिलोको लागि त्यसलाई क्याटेगोरी छुट्याइराखेको हो /"

  •  0 Reply

तपाईको प्रतिक्रिया