न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदालत जाने गंगामायाको चेतावनी

 असोज ६, २०७५ शनिबार १३:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनु भएको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनु भएको हो ।

छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै तीन वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका  पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मुलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । 

द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न यसबीच ११ वटा सरकारसँग आग्रह गरे पनि आफूहरुलाई न्याय नदिएको गंगामायाले स्मरण गराउनुभयो ।

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधीलाई अन्तर्राष्ट्रिय अदालतले समात्ने विश्वास बताउनुभयो । आमरण अनसनका कारण सिथिल बनेकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्न गर्नुभयो ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताउनु भएको छ ।

सरकार र अदालतले न्याय नदिएकै कारण पति नन्दप्रसादले समेत ज्यान गुमाउनु परेको पनि उहाँले स्मरण गराउनुभयो । छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बस्नु भएका गंगामायाका पति नन्दप्रसादको पनि तीन वर्षअघि वीर अस्पतालमै ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया