रोग पत्ता नलाग्दा डोटीमा दिनहुँ चौपाया मर्दै

 असोज ६, २०७५ शनिबार १४:२:० | विमल बिष्ट

डोटी – डोटीमा चौपाया मर्ने रोगको कारण अझै पत्ता लागेको छैन । रोग पत्ता नलाग्दा स्थानीय किसानका दजर्नौ चौपायाहरु धमाधम मर्न थालेका छन् । 

करिब दुई महिनायतादेखि फैलिएको अज्ञात रोगका कारण डोटीमा दर्जनौं चौपाया मर्न थालेका हुन् । गाउँभरीमा चौपाया धमाधम मर्न थालेपनि रोगको कारण पत्ता लगाउन सकिएको छैन । 

जिल्लामा रोगको कारण पत्ता लगाने पशु चिकित्सक नहुँदा चौपाया मर्ने समस्या बढेको छ । जिल्लाको शिखर नगरपालिका १० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको उक्त अज्ञात रोगका कारण पशुहरु धमामध मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘चौपायाहरुमा अनौठो रोग आएको छ, धमाधम मर्न थालेका छन् गाउँमा चौपायाहरु सकिने अवस्था भैसक्यो ।’ 

रोगका कारण भैंसी, गोरु तथा गाई मर्न थालेका छन् । जिल्ला पशु सेवा कार्यालय डोटीले त्यस ठाउँका पशु चौपायामा कुन रोग लागेको हो अहिले सम्म पत्ता लगाउन नसकेको वडा अध्यक्ष मिनबहादुर बलायरले जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त रोगकाकारण अहिलेसम्मकम्तिमापनि ५० वटा चौपाय मरिसकेका छन् भने दजर्नौ चौपाया रोगकाकारण थला परेका छन् ।

चौपायाको मुखमा र्‍याल आउने, काँप्ने, छट्पटाउने र खाना-पानी नखाने लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको स्थानीयबासी बताउँछन् । 

नगरपालिकामा रहेको पशु सेवा इकाइ कार्यालयबाट प्राविधिक गएपनि रोग पत्ता लगाउन नसकेको स्थानीय हर्कबहादुर बलायरले बताउनुभयो ।

इकाइ कार्यालयमा रहेको सामान्य औषधि प्रयोग गरिएको भए पनि औषधिले खासै काम गर्न नसकेको प्राविधिक जयप्रकाश मल्लले बताउनुभयो । ‘चौपायाको गोबर जाँचको लागि धनगढी पठाएका छौं’, उहाँले भन्नुभयो ‘रिपोर्ट नआएकोले यहि रोग लागेको हो भन्न सकिने अवस्था छैन ।’
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया