कारागारमा स्वास्थ्यकर्मीको अभाव : कैदी निजी मेडिकलमा उपचार गराउन बाध्य

 असोज ६, २०७५ शनिबार १४:३१:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ कारागारमा स्वास्थ्यर्मीको अभाव भएको छ ।

दरबन्दी भए पनि दुई वर्षदेखि  स्वाथ्यकर्मी अभाव हुँदा कारगारमा रहेका बिरामी कैदीलाई समस्या हुने गरेको छ । कारागारमा नियमित स्वास्थ्यर्मी नबस्दा बिरामी कैदीहरुलाई बिरामी भएका बेला उपचारका लागि कारागार बाहिर गएर उपचार गर्न समस्या हुने गरेको छ । 

कैदीको उपचारका लागि सिनियर अहेबको समेत दरबन्दी रहे पनि कारागारमा स्वास्थ्यकर्मी छैनन्  । दुईवर्ष अगाडि कारागारमा रहेका हेल्थ असिस्टेन्ट सेते नेपाली सरुवा भएर डोटी जिल्ला गएदेखि कारागारमा अहिलेसम्म स्वास्थ्यकर्मी नआएको कारागारका जेलर राजेन्द्रबहादुर बोहराले बताउनुभयो ।

‘कारगारमा कैदीहरुको उपचारमा निकै नै समस्या हुने गरेको छ’, कारागारका जेलर बोहोराले भन्नुभयो, ‘अहिले त जेन तेन जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर उपचार गर्ने तथा बिरामी भए निजी र जिल्ला अस्पतालमा कैदी  लगेर उपचार गराउनु पर्ने बाध्यता रहेको छ ।’

लामो समयदेखि जिल्ला कारागारमा कर्मचारी अभाव भएको भन्दै बारम्बार केन्द्रमा  जानकारी गराए पनि अहिलेसम्म समस्या समाधान नभएको जेलेर बोहोराले जानकारी दिनुभयो । 

जिल्ला कारागारमा रहेका कैदीहरुलाई उपचारका लागि भन्दै जिल्ला स्वास्थ्य कार्यालय लैजानका लागि बाटोमा सुरक्षा चुनौती समेत हुने गरेको छ । कारागार भित्रै कैदीहरुको सामान्य उपचारका लागि राज्यले व्यवस्था गरेको भए पनि कर्मचारी अभावका कारण बझाङ कारागारमा रहेका कैदीहरुले भने अनावश्यक उपचार पाएका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अनुप रेग्मी कारागारमा स्वास्थ्यकर्मी पठाउने काम विभागको भएको बताउनुहुन्छ । आफूहरुले आवश्यकता अनुसार चेकजाँचमा सहयोग गरेको उहाँको भनाई छ ।

कैदीहरुमा झाडापखाला, टाउको दुख्ने, पेट दुख्ने, रुगाखोकी लाग्ने, ज्वरो आउनेलगायतका समस्या हुने गरेको छ । २५ जना कैदी रहेको जिल्ला कारागार  बझाडमा अहिले अभियुक्त थुनुवासहित ५६ जना कैदी रहेका छन्  । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया