बलात्कार र हिंसाबाट बच्न महिलालाई आत्मरक्षाको सीप सिकाइने

 असोज ६, २०७५ शनिबार १६:५९:२७ | निर्मला खडायत
unn.prixa.net

कैलाली – दिनहु बलात्कार र महिला हिंसाका घटना बढ्न थालेको भन्दै राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाहरुका लागि आत्मरक्षा सम्बन्धी निःशुल्क शिविरको आयोजना गर्नेभएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजनामा असोज २० गतेदेखि धनगढीमा आत्मरक्षा शिविरको आयोेजना हुने भएको हो ।  त्यस शिविरले केही हदसम्म भए पनि महिला हिंसाका घटनामा न्यूनिकरण हुने आयोजकले विश्वास लिएको छ ।

महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गर्न लागिएको राष्ट्रिय गोजुरियो कराते दो सङ्घले जनाएको छ ।

सङ्घका महासचिव प्रकाश चन्दले महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले शिविरमा लड्न हैन, किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउने बताउनुभयो ।

असोज २० गतेबाट महिलारुका लागि आत्मरक्षा सम्बन्धी सात दिने शिविरमा प्रदेश ७ का एक हजार महिलाको सहभागिता रहने छ । सहभागी एक हजार महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् ।

महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपालका संयोजक बिनु रानाले यसलाई अन्य प्रदेश र प्रत्येक स्थानीय तहमा पनि सञ्चालन गरिने बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया