‘देशले अब गरिबी, बेरोजगारी, निरक्षरता सहन्न’

 असोज ६, २०७५ शनिबार १८:१७:४२ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले देशले अब गरिबी, निरक्षरता र बेरोजगारी सहन नसक्ने बताउनुभएको छ ।

शहीद अजबलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘शहीदका सपना र सरकारको दायित्व’ विषयक अन्तक्रिया कार्यक्रममा उहाँले देश र नागरिकको पक्षमा बलिदान गर्ने शहीदको सपना साकार पार्न देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भन्नुभयो,  देशले गरिबी, बेरोजगारी र अशिक्षा सहन सक्दैन । नागरिकले विश्वास गरेर दुई तिहाइको सरकार बनेको छ । यो मत खेर जान दिनुहुन्छ । शहीदको सपनालाई साकार तुल्याउन देशलाई समृद्धि र आत्मनिर्भरतातर्फ बनाउनैपर्छ ।’

उहाँले विभिन्न खाले सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत तथा संविधान कार्यान्वयनलाई गति दिँदै उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तत्कालीन जनयुद्धका शहीदलाई सरकारले राष्ट्रिय शहीदको सूचीमा राखी आश्रित परिवारलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

समाज रुपान्तरणका खातिर जीवन बलिदान गर्ने शहीद अझै पनि सामाजिक अपमान तथा आर्थिक समस्या भोग्न बाध्य रहेको भन्दै उनीहरुलाई सामाजिक सम्मानको वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले शहीदको योगदानलाई कदर गर्दै उनीहरुका परिवारलाई जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष शीला यादवले राजनीतिक परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदलाई राष्ट्रले उच्च सम्मानका साथ परिवारको हेरचाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।

तत्कालीन नेकपा (माओवादी) जनयुद्धका क्रममा विसं २०५८ चैत ९ गते अजबलाल यादवको मृत्यु भएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • अात्रेय उमानाथ

    Sept. 22, 2018, 9:42 p.m.

    नेताज्युले वल्ल थाहा पाउनु भये जस्ताे छ,तर नेपालीले अरू १०० वर्ष पनि यत्तिके काट्न सक्छन् उहांहरूले ढुक्क भयेर राजनीतिक जागीर खाये हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया